इनरुवा/ सुनसरीमा समुदाय प्रहरी जिल्ला समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारी र इनरुवा नगरपालिका प्रमुख राजन मेहता सल्लाहकार रहेको समितिको संयोजकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती रहेका छन् ।
प्रजिअको संयोजकत्वमा गठित प्रारम्भिक समिति २१ सदस्यीय रहेको छ । सहसंयोजक सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारी रहेको समितिका सदस्य सचिव जिप्रका प्रहरी निरीक्षक सुनिल दाहाल छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सरोकारवालासहितको सर्वपक्षीय बैठकले ७३ सदस्यीय कार्य समिति चयन गरेको सुनसरीका प्रहरी प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
गठित समिति सदस्यमा स्थानीय निकाय, सामुदायिक प्रहरी, सामाजिक क्षेत्रमा कृयाशील सङ्घ–संस्था, अधिकारकर्मी, पत्रकार महासङ्घसहित मिडियाकर्मी, उद्योग वाणिञ्य सङ्घ र नागरिक समाज लगायत सरोकारवाला निकायका प्रतिनिधि सदस्य छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गठित समितिले शान्तिपूर्ण एवम् सुरक्षित समाज निर्माणका लागि स्थानीय तहमा केन्द्रित रही सरोकारवालासँगको समन्वयमा जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्नेछ ।
































