वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाका २ सय २० कृषकलाई तरकारीको निःशुल्क बिउ वितरण गरिएको छ । एफडीसीपीएल नेपाल सुनसरी र वराहक्षेत्र नगरपालिकाको साझेदारीमा स्थानीय कृषकलाई बिउ वितरण गरिएको संस्थाका अध्यक्ष रामबहादु रायाले जानकारी दिए ।

‘परनिर्भर खेती होइन, व्यवसायिक खेती गरौं’ भन्ने नाराका साथ स्थापित एफडीसीपीएल नेपालको कृषि फर्ममा आयोजित कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले कृषकलाई तरकारीको बिउ वितरण गरेका हुन् ।

आयोजित औपचारिक कार्यक्रममा स्थानीय कृषकले सिंचाइ नपुगेका नगरक्षेत्रमा सिंचाइको व्यवस्था गरिदिन माग गरे । वडा नं. ३ का अध्यक्ष रुद्र दाहालले कृषकहरूको समस्या स्थानीय सरकारले सम्बोधन गर्ने बताए ।

बिउ वितरण कार्यक्रममा वराहक्षेत्र नगरका कृषि विकास अधिकृत रेवतीरमण दाहाल, कृषि विज्ञ मारिया लुइजालगायत स्थानीय कृषि समूहका प्रमुख साथै कृषकले आफ्नो धारणा राखेका थिए ।