उदयपुर/उदयपुरका तीन पालिकाको ५ गाउँका २ सय २६ वतावरण मैत्री नमूना घर बनेको छ ।

जिल्लाको दुई नगरपालिका र एक गाउँपालिकाको ५ वटा गाउँबस्तीका २ सय २६ घर वातावरण मैत्री नमूना घर बनेको हो । त्रियुगा नगरपालिका–८ का बैरेनी, उत्राइटोल, त्रिनपा–९ नवउदय टोल, चौदण्डीगढी नगरपालिका–९ को त्रियुगा थारुहट जन र उदयुरगढी ८ को देवीथान जन पर्यावरण मैत्री नमूना गाँउ बनेको छ । उक्त गाउँको २ सय २६ घरका एक हजार ४ सय ७७ जना लाभान्वित भएको ओरेक नेपाल उदयपुरको तथ्याङ्कले देखाएको छ ।

ओरेक नेपाल उदयपुरको आयोजनामा भएको अन्तरक्रियाका क्रममा उक्त विवरण प्रस्तुत गरिएको थियो । ‘घर–घरमा महिला अधिकार, विकास र शान्तिको आधार’ भन्ने मूल नाराका साथ बालबालिका र महिलामाथि हुने हिंसाको अन्त्य गर्न विभिन्न संस्थाको स्थापना, कृषी तालिम तथा कृषी औजारहरू सहयोग गर्दै आएको ओरेके नेपाल उदयपुरका कार्यक्रम संयोजक सुमित्रा कोइरालाले बताइन् ।

महिला तथा बालबालिकामा हुने हिंसाको अन्त्य र महिलाहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको कोइरालाले बताइन् । विभिन्न आधारमा पडाछि परेको ५ गाउँलाई छानेर जनचेतनामूलक कार्यक्रम, कृषी कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताइन् ।

आधुनिकीकरण गरेर व्यवसायिक कृषिको लागि कृषी औजार र तालिम गराउँदै आएको, बेला–बेलामा प्राविधिकले परीक्षण गरिरहेको र माटो परीक्षणसमेत निःशुल्क गरिदिने जीविकोपार्जन अधिकृत हिरसरण धितालले बताए ।

शिक्षाको लागि बालविकास केन्द्रको स्थापना, प्रजनन स्वास्थ्य, सघन जैविक खेती, सीप विकास, सुधारिएको गोठ, सुधारिएको चुल्हो, तराकारी खेतीलगायतको तालिम गर्दै आएको धितालले बताए । कार्यक्रमले जनचेतना फैलाउने र आर्थिक स्तर उकास्ने भएकाले बालबालिका र महिलामाथि हुने हिंसाको अन्त्य हुने धितालले बताए ।