इटहरी/निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीहरू पत्ता लाग्न नसकेको भन्दै चौतर्फी विरोध भइरहेको बेला इटहरीका सामाजिक कार्यमा सक्रिय युवाहरूले भने भित्ते पेन्टिङ गरेर सचेतना जगाउन थालेका छन् । बलात्कार विरुद्ध उनीहरूले भित्ते अभियान चलाउन थालेका हुन् ।
महिला हिंसाविरुद्ध सचेतना जगाउन कलात्मक वाल पेन्टिङ शुरु गरेका हुन् । समयमा हिंसा रोक्न र सचेतना जगाउन विभिन्न अभियान र कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । निर्मला पन्त हत्याका दोषीहरू पत्ता लगाऊ भन्दै उनको फोटो अङ्कित पोष्टर टाँसेर सरकारलाई दबाव दिन उनीहरूले साङ्केतिक विरोध स्वरूप भित्ते पेन्टिङ थालेका हुन् ।
महिला हिंसा, बलात्कार जस्ता घटना बढेको भन्दै सचेतना जगाउन इटहरीको बुल्स इलेभेन क्लबका युवाहरूले सडकका खाली वालहरूमा पेन्टिङ गरेका छन् । इटहरी–६ स्थित त्रिवेणी मार्गको सडकका खाली वालहरूमा आकर्षक र कलात्मक पेन्टिङ गरिएको बुल्स इलेभेन क्लबका अध्यक्ष पूर्ण राईले बताए । उनले भने, ‘हामी बलात्कार भएर न्याय नपाउनुभन्दा हुनै नदिने अभियानमा छौं ।’
रङ्गीविरङ्गी कलात्मक शैलीमा सचेतनाका विभिन्न नाराहरू लेखिएका छन् । पेन्टिङ देख्ने बित्तिकै जो कोही पनि सोच्न बाध्य हुन्छन् । आकर्षक चित्र, नारा मार्फत् सबैको ध्यान तानेर सोच्न बाध्य बनाउने अभियन्ता राई बताउँछन् । काठमाडौँ, पोखरा, धरान लगायतका शहरहरूमा यस्ता पेन्टिङ गरिएका छन् ।
मानिसहरूको दैनिक चहल–पहल बढी हुने इटहरीका विभिन्न सडकका भित्ताहरूमा चित्र बनाइएको छ । देशमा महिला हिंसा, बलात्कार जस्ता घटना बढिरहेको अवस्थामा यस्ता रचनात्मक कार्यले सरकारलाई दबाव दिएको इटहरी युवा व्यवसायी दिवस पोख्रेल बताउँछन् । निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेको सरकारलाई यस्ता कार्यमार्फत् दबाव दिनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘समाज सुधारमा सबै पक्ष एक हुनुपर्छ ।’
इटहरीकी स्थानीयबासी चन्द्रकला काफ्लेले स्थानीयबासी र बुल्स क्लबले यसअघि पनि इटहरी शहरको सरसफाइ गर्ने काम गर्दै आएको बताइन् । गाउँ समाजका छोरीचेलीहरू बलात्कार हुने क्रम बढेको अवस्थामा सचेतना फैलाउन पेन्टिङ गरिनु उदाहरणीय काम भएको उनले बताइन् । समाजमा भइरहेका अपराध रोक्न सबै एकजुट हुनुपर्ने सर्वसाधारणहरू बताउँछन् ।
महिला हिंसाका घटना बढ्दै गएको अवस्थामा रोकथाम गर्नका लागि सरकारले विभिन्न काम गर्दै आएको छ । तर नतिजा शून्य झैं देखिएको छ । नियमनकारी निकायले प्रभावकारी काम गर्न नसक्दा समाजमा हिंसाका घटना बढेका छन् । तसर्थ हिंसा रोक्नका लागि यस्ता रचनात्मक कार्यमार्फत् दबाव दिन आवश्यक छ । महिला हिंसाको घटना रोक्न गाउँ–गाउँमा रचनात्मक काम गर्नुको विकल्प छैन ।

00 0