धरान/ मुख्यमन्त्री शेरधन राईले संविधानसभाले ५ वर्ष ८ महिनामा टुङ्ग्याउन नसकेको प्रदेशसभाको नाम र राजधानी प्रदेशका लागि सजिलो विषय नभएको बताएका छन् ।
प्रदेश १ को प्रदेशसभा बैठकको चालु अधिवेशनको समापनमा नेकपाको संसदीय दलको तर्फबाट बोल्दै मुख्यमन्त्री राईले नाम र स्थायी राजधानीको विषय कठिन भएको बताए ।
‘प्रदेशको नाम र राजधानी टुङ्ग्याउने जिम्मा संविधानले प्रदेशसभालाई दिएको छ’ उनले भने, ‘प्रदेश सरकारले सहजीकरण मात्र गर्ने हो ।’
उनले हिउँदे अधिवेशनको पहिलो बैठकबाटै प्रदेशको नाम र राजधानी तोक्न प्रक्रिया अघि बढाउने बताए ।
उनले सहमतिकै आधारमा नाम र राजधानी टुङ्गोमा पुर्याउने बताए । उनले प्रदेशसभा र सरकारलाई चुनौती दिन लक्षित गर्ने अधिकार कसैलाई नभएको जिकिर गरे ।
विराटनगर महानगरपालिकाप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । उनले आफु मुख्यमन्त्रीको नाम झुन्ड्याउन मात्र नआएको भन्दै हैसियतमा रहेर काम गर्न चेतावनी दिए ।
वर्षे अधिवेशनको अन्तिम बैठकमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकार पहिलाको तुलनामा सुस्त भएको आरोप लगाए ।
उनले सङ्घीय सरकारले सहयोग नगरेको भन्दै गाँठो फुकाउन पहल गर्नुपर्ने धारणा राखे । बैठकमा सङ्घीय समाजवादी फोरमका तर्फबाट सांसद् जयराम यादव र राप्रपाका तर्फबाट इन्दिरा राईले बोलेका थिए ।
यसैबीच प्रदेश १ को वर्षे अधिवेशन मङ्गलबार राति १२ बजेबाट समाप्त भएको छ । प्रदेश प्रमुखले बैठक समापन सम्बन्धमा पठाएको पत्र वाचन गर्दै सभामुख प्रदीपकुमार भण्डारीले बैठक अन्त्य भएको जानकारी गराए ।
‘प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १ सय ८२ को उपधारा २ बमोजिम प्रदेशसभाको चालु अधिवेशन २०७५ असोज २३ गते मङ्गलबार रातको १२ बजेदेखि अन्त्य गरेको छु’ –प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले पठाएको पत्रमा उल्लेख गरिएको छ ।
जेठ १७ गते शुरु भएको अधिवेशन मङ्गलबार राति १२ बजेबाट समाप्त भएको हो । अधिवेशन १ सय ३० दिन चालु भएको थियो ।
यस अधिवेशनमा ५२ बैठकमा ५८ पटक बैठक बसेको सभामुख भण्डारीले जानकारी दिए । जसमा ६० घण्टा १५ मिनेट संसदीय कारबाहीमा सदन केन्द्रित भएको उनले बताए ।
हालसम्म दुवै अधिवेशनबाट २३ वटा विधेयकहरू पारित भइसकेका छन् ।
यसैबीच प्रदेश १ को राजधानी र नामाङ्कनको विषयमा सञ्चारकर्मीहरूले मनगणन्ते समाचार सम्प्रेषण गरेको भन्दै आक्रोस पोखेका छन् ।
प्रदेश १ को वर्षे अधिवेशनको मङ्गलबार समापन बैठकलाई सम्बोधन गर्दै उनले न्यूनतम् आफ्नो मर्यादालाई ख्याल नगरी लेखिएको बताए ।
उनले सर्वभौम सम्पन्न प्रदेश सभालाई केन्द्र र नाम तोक्ने अधिकार भएको बताउँदै प्रदेश सरकारले सहजीकरणको भूमिका मात्र निर्वाह गर्ने धारणा राखे ।
उनले प्रदेश सरकार समझदारीबाट अगाडि बढ्न चाहेको बताए । ‘सपनामा देखेर लेख्नुहुन्छ’ उनले भने, ‘तपाईहरू भाँजो हाल्ने काम नर्गनुस् ।’
उनले साझा मिलन विन्दु खोजेर अघि बढ्न चाहेको भन्दै त्यो सरकारको सङ्कल्प भएको बताए ।
‘यसलाई सक्नुहुन्छ भने हाइलाइट गर्नुस्’ उनले भने, ‘नसके आफ्नो कमजोर र स्तरहीन क्षमता नदेखाउनुस् ।’
उनले प्रदेशको राजधानी र नामको विषयमा सञ्चार क्षेत्रमा आएका समाचार र टिपप्णीप्रति आक्रोस पोखेका थिए ।