पानवारी । उदय सामुदायीक वनको पाँचौ साधारण सभा विथोलिएको छ । शुक्रबार धरान–१७ स्थित वनको सभाहलमा भएको साधारण सभामा उपभोक्ताहरुले विभिन्न माग राख्दै साधारणसभा बहिस्कार गरेर हिडेपछि साधारणसभा विथोलिएको हो । साधारण सभाको खुल्ला सत्र चलिरहेको समयमा साधारण सभाको सूचना नगरिएको भन्दै उपभोक्ताले आवाज उठाएका थिए । खुल्ला सत्रख्दै गर्दा हलमा उपस्थित उपभोक्ताले होहल्ला सुरु गरेका थिए । हलमा उपभोक्ताले हल्ला गर्न थालेपछि सव डिभिजन वन कार्यालय धरानका ज्ञानकुमार लामाले उपभोक्तालाई अगाडी आएर गुनासो राख्न भनेपछि उपभोक्ता श्याम रोक्काले मञ्चमा आएर गुनासो राखेका थिए । उनले आफु सामुदायिक वनको उपभोक्ता हुँदाहुदै साधारणसभाको सूचना समेत नपाएको, विगत ४/५ वर्षदेखि एक टुक्रा काठ नपाएको र अहिले आफुले सामुदायिक वनको कार्य समितिमा रहनेलाई भोट समेत हाल्न नपाउने गरी सुटुक्क प्रतिनिधी छनौट गरेको भन्दै साधारण सभा तत्काल स्थगीत गरिनुपर्ने बताए । त्यस्तै गरी उपभोक्ता भविन राईले भने –‘साधारण सभामा आफ्ना आफ्ना मान्छेलाई छानेर प्रतिनिधी बनाइएको छ, ४/५ वर्षदेखि साधारण सभा नगरी आर्थिक अनियमितता गरेको छ । यी सबै कुराको राम्रारी छानविन गरेर मात्र साधारण सभा गरियोस् ।’ साधारणसभाको खुल्ला सत्र चलिरहेको बेला उपभोक्ताहरुले गुनासो गर्दै हल छोडेर हिडेपछि साधारण सभा हुन सकेन । कुनै बेला २२ सय भन्दा बढी घरधुरी उपभोक्ता संख्या रहेको उदय सामुदायिक वनमा अहिले उपभोक्ता संख्या घटेर १५ सय भन्दा कम घरधुरी उपभोक्ता भएका छन् । २०६९ साल फागुनमा २ वर्षे कार्यकालको लागी चुनिएका अध्यक्ष मिनकुमार सुनुवार लगायत कार्य समितिले अहिलेसम्म साधारण सभा गर्न सकेन । विगत ३ वर्षदेखि साधारण सभा हुन नसक्दा सामुदायिक वनले वनबाट वन पैदावरका सामाग्री निकाल्न समेत सकेको छैन । जसले गर्दा उपभोक्ताहरुलाई आवश्यक पर्ने काठ दाउरा समेत वनबाट निकाल्न नसकिएको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् । उदय सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मिनकुमार सुनुवारले भने वनमा आम्दानीको स्रोत नहुँदा कर्मचारीलाई तलब दिन समेत नसकिएको बताए । उनले ७ जना बन हेरालुलाई दिनुपर्ने तलब लगायतको खर्च ऋण लिएर गरेको बताए । उनका अनुसार सामुदायिक वनलाई २ लाख भन्दा बढी ऋण लागेको छ । साधारण सभाको प्रमुख अतिथिको रुपमा आइपुगेका डिभिजन वन कार्यालय सुनसरीका प्रमुख राजेन्द्रप्रसाद निरौलाले भने सामुदायिक वनले साधारण सभा सम्पन्न गर्न नसक्दा बनबाट काठ दाउरा निकाल्न नसकेको भन्दै जतिसक्दो चाडो साधारण सभा सम्पन्न गर्न सुझाव दिए । उनले साधारण सभा नहुँदा उपभोक्ताहरु आफ्नो अधिकारबाट बञ्चित भइरहेको ले उपभोक्तालाई पनि साधारण सभा सम्पन्न गर्न सुझाएका छन् । उनका अनुसार अनियमितता भएको भए त्यसलाई छानविन गरी कारवाही गर्नुपर्छ तर साधारण सभा नै विथोलिने गरीको काम उपभोक्ताले गर्नु नहुने थियो । अध्यक्ष सुनुवारले भने आफुले काम गर्ने शिलशिलामा केही गल्ती गरेको भए आफु सच्याउन तयार रहेको बताए । उनले अब २–३ गते कार्य समितिको बैठक बसेर छलफल गरी अगाडी बढ्ने बताए ।