बिर्तामोड । शुद्ध पिउने पानीको समस्याकाबीच सञ्चालनरत् अर्जुनधारा नगरपालिकाको एकमात्र सामुदायिक क्याम्पस शनिश्चरे बहुमुखीमा धारा जडान भएको छ । फरवार्ड युवा मञ्च नगर समितिको प्रयासमा सोही नगरपालिका–७ स्थित क्याम्पसमा सञ्चालन गरेको ‘बर्थ डे फर सोसाइटी’ अभियान अन्र्तगत धारा जडान भएको हो । शुद्ध पानी पिउनबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले सो अभियान मार्फत् धारा जोडिएको मञ्चका सल्लाहकार एवम् अभियानका संयोजक अमित खम्बूले जानकारी दिए । मञ्चका अध्यक्ष राजिप कठेतको अध्यक्षतामा बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथि नवराम ढुंगाना, पूर्व सांसद् प्रेमबहादुर गिरी र शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता प्रेमसागर सापकोटा, नेपाली काँग्रेस नगर सभापति हेमराज खरेल, अर्जुनधारा प्रेस क्लबका सचिव प्रेम आचार्य, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सरोजकुमार ओली, क्याम्पस प्रमुख मोहनकुमार ओली, भूतपूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष कमल पोखरेल, स्वतन्त्र विद्यार्थी युनियनका सभापति इशान पौड्याल लगायतको आतिथ्यता रहेको थियो । मञ्चका उपाध्यक्ष कृष्ण नेपालले स्वागत तथा सल्लाहकार खम्बूले मञ्चको पृष्ठभूमीसहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सदस्य दिपेश पनेरुले गरेका थिए । क्याम्पसका लेखापाल तीर्थ पौड्यालका अनुसार सो धारा जडान भएपछी क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरुसहित तीन सय जना प्रत्यक्ष लाभान्वित हुनेछन् ।






























