बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा बुधबार राती शसस्त्र प्रहरीका एक सिपाहीको मृत्यु भएको छ । घटनास्थलमा रगतका टाटा देखिएको छ । होटलको तेस्रो तलामा सुतेका उनको लजबाट झरेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । अर्जुनधारा नगरपालिकाले आयोजना गरेको ‘बिपद प्रतिकार्यका लागि समुदायमा आधारित खोज तथा उद्दार’ तालिमका प्रशिक्षक समेत रहेका शसस्त्र प्रहरीको बराह बाहिनी सुनसरीमा कार्यारत ३२ बर्षिय अर्जुन बस्नेतको मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसंधानले समेत मृत्युको कारण यकिन गर्न नसकेको बुझिएको छ । अर्जुनधारा नगरपालिकाले आगलागी नियन्त्रण, भुकम्प पछिको उद्दार र राहत, बाढीबाट जोगाउन गरिने उपायको बारेमा स्थानीय १ सय २० जना युवा युवतीलाई तालिम प्रदान गर्दै आएको थियो । तेस्रो दिनको तालिम समापन पछि होटलमा बसेका बस्नेत होटलको अगाडि अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा रहेका बस्नेतलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । नगरपालिकाले सोमबारदेखि शुरु गरेको तालिममा शसस्त्र प्रहरीका इन्स्पेक्टर उत्तम बस्नेतको नेतृत्वमा ११ जना प्रहरीले तालिम प्रदान गर्दै आएका थिए । बस्नेत नेतृत्वको शसस्त्र प्रहरीका प्रशिक्षकले अर्जुनधारा नगरपालिकाले तयार गर्न लागेका स्वयमसेवकलाई आगलागि नियन्त्रण, बाढीबाट हुने क्षतिको रोकथाम, भुकम्पपछिको उद्दार लगायतका बिषयमा प्रशिक्षण प्रदान गर्दै आएको थियो । चारदिने प्रशिक्षणको अन्तिम दिनका अघिल्लो रात बस्नेतको मृत्यु भएको हो । अर्जुनधाराको खान्की होटलमा बसेका प्रशिक्षकको टोलीले बुधबार बेलुका नजिकै रहेको छहारी रिसोर्टमा खाना खाएको थियो । खाना खाएर राती ११ बजे खान्की होटलमा सुतेका उनीहरुले १२ बजे होटलको बाहिर आफ्ना सहकर्मी बस्नेत छटपटाइरहेको देखेपछि उपचारका लागि अस्पताल तर्फ लगेका हुन् । नगपालिकामा कार्यारत एकजना कर्मचारीले देखेर अन्य प्रहरीलाई खबर गरेपछि बस्नेतको उद्दार गरिएको थियो । अस्पताल लैजाने क्रममा बाटैमा उनको निधन भएको अर्का सहकर्मी भुपेन्द्र पौडेलले जानकारी दिए । बस्नेत सुतेको सो होटलको कोठामा ग्रिल लगाइएको छैन । झ्यालमा सिसा मात्र भएका कारण त्यहीबाट झरेको हुनसक्ने प्रहरीको भनाइ रहेको छ । उनीसँगैका अर्का एकजना सहकर्मीले भने आएर सँगै सुतेको मात्र थाह भएको बताए । उनले बाहिर मान्छे भएको भनेर राती एकजना स्थानीयले हल्ला गरेपछि गएर हेर्दा आफ्नै सहकर्मी फेला परेको उनले बताएका छन् । शसस्त्र प्रहरी स्रोतका अनुसार बस्नेतले बंगलादेशबाट गोताखोर तालिम लिएका थिए । उनी नदीमा डुबेकाहरुको उद्दारमा प्रभावकारी भूमिका खेल्दै आएका थिए । गोताखोर तालिम दिने अघिल्लो दिन बस्नेतको मृत्यु भएको हो । बस्नेतको मृत्युपछि नगरपालिकाले आयोजना गरेको सो तालिम पनि स्थागित भएको छ । प्रहरीले के कारणबाट बस्नेतको निधन भएको हो भनेर यकिन गर्न सकेको छैन । बिर्तामोड प्रहरीका इन्स्पेक्टर ज्ञानबहादुर बिष्टले होटलको तेस्रो तलाबाट झरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको बताए । यद्यपी सुतेको कोठाबाट झरेको वा त्यही लडेर घाइते भएको हो भन्नेबारे अहिले केही भन्न नसकिने उनले बताए । बस्नेतको शबलाई पोष्टमार्टमको लागि धरान लगिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको वास्तविकता थाह हुने उनले बताए ।