संखुवासभा/ जिल्ला अस्पताल खाँदबारीमा तीन महिने शिशुकोे मृत्यु पछि दुई दिन पनि तनाव ग्रस्त भएको छ । भोजपुर घर भई हाल खाँदबारी नगरपालिका ८ बस्दै आएका चन्द्र तामाङको छोरा राचन तामाङको आइतबार राती ८ बजे मृत्यु भएको थियो ।

अस्पतालको लापरबाहीका कारण बच्चाको ज्यान गएको भन्दै मृतकका परिवार र आफन्तले सोमबार पनि विरोध र नारावाजी गरेका थिए । मृतकका आफन्तको चर्को बिरोध पछी सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा व्यवस्थाका बिच पनि उनीहरुले अस्पताल कार्यालयमा ताला बन्दी गर्नका लागि प्रयास गरिरहेका छन् भने अस्पताल परिसरमा नाराबाजी भइरहेको छ ।

अस्पतालले मंगलबार बिहान १० बजे गर्ने भनेको वार्ता अहिलेसम्म बस्न नसकेपछी उनीहरु आक्रामक बनेका हुन् ।अस्पतालले आइतबार रेफर गरेपछी बिरामी बच्चालाई थप उपचारका लागि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । बच्चालाई जेष्ठ १ गते जिल्ला जनस्वास्थ्यमा डिपीडी र पिसीभीको खोप लगाइएकको थियो ।

बैसाख १२ गते लगाउनुपर्ने भए पनि खोप नभएका कारण जेष्ठ १ गते मात्र लगाइएको थियो । खोप लगाउने क्रममा स्वास्थ्यका कर्मचारीले बच्चाका आमालाई गाली गलौच गर्नुका साथै बच्चालाई खोप लगाउँदा रिसाएर दुई तीन पटक सिरीन्ज प्रयोग गरेको उनीहरु बताउँछन् । बच्चालाई खोप दिए पछी खोप दिएको ठाउँबाट रगत नरोकीए पछी स्वास्थ्यका कर्मचारीले आइसले सेक्न सल्लाह दिएका थिए । चिकित्सकको सल्लाह अनुसार गरिए पनि सोही दिन देखि खोप दिइएको स्थानमा सुन्निएर घाउ भएको तामाङले बताए ।