मोरङ/मोरङको पथरीशनिश्चरे ४ का एक युवकले दलित भनिएकी युवतीसँग विवाह गरेका कारण आफ्नो बाबुको काजक्रियाको दैनिक कर्म गर्नबाट ञ्चित भएका छन् ।
गत जेठ १ गते आफ्ना बाबु धनबहादुर श्रेष्ठको निधन भएपछि पुरोहितको सहयोगमा गरिने दैनिक काजक्रियाको कर्मबाट स्थानीय यादव श्रेष्ठ वञ्चित हुन पुगेका हुन् । रेखा विश्वकर्मासँग डेढ वर्षअघि प्रेम विवाह गरेका परिवारका एक्लो छोरा श्रेष्ठले बाबुको दागवत्ती दिन पाएपनि त्यसैबेलादेखि पुरोहितबाट गरिने कर्मबाट भनें उनी वञ्चित भए ।
आफुले दलित भनिएकी युवतीसँग विवाह गरेका कारण कुनै पनि पुरोहितले आएर काजक्रियाको कर्म नगरिदिएपछि श्रीमतीसहित आफु त्यसै झोक्राएर १३ दिनसम्म बस्ने बाहेक धार्मिक एवम् सांस्कारिक कर्म केही गर्न नपाएको श्रेष्ठले दुखेसो पोखेका छन् । उनले भने ‘हाम्रा आफन्तहरुले पनि घृणा गरे । व्राह्मण पुरोहित र गुभाजुहरु आउन मानेनन् । आफैं आफैंले चोखो गरेर आफ्नै तरिकाले बारेर वसेका छौं ।’ उनको पीडा यो मात्र होइन, छोरो जन्मिएको बेला न्वारनमा समेत पुरोहित नआउँदा यसै त्यसै आफैंले चोख्याएको यसअघिको पीडा छ ।
पुरोहितका रुपमा कर्म गरिदिनका लागि ब्राह्मणहरु मात्र नभएर नेवार जातिका गुभाजुहरु समेत आउन नमानेको कुरा शनिवार त्यहाँ पुगेका पत्रकारहरुसँग पिडीत परिवार र स्थानीयले प्रष्ट्याएका थिए । आफन्तहरुले पनि कुनै केटी नपाएर विश्वकर्मा केटी विहेगरेपछि यस्तै अप्ठेरो हुने र दम्पत्तीले यसरी नै चेत्दै जाने नमीठो कुरा मलामीहरुले त्यही दिन सुनेको पनि त्यहाँ उल्लेख भयो । त्यही समयमा रेखाले ससुरा बुबा हुँदा उहाँले विभेद नगर्नु भएको र आफैंले पकाएर खुवाउँदा खुवाउँदै आफ्नै काखमा प्राण गएको अवस्था पनि सुनाइन् । उनकी सासुको भनें उनी आउनु अघि नै निधन भइसकेको थियो । श्रेष्ठकी एक दिदी विदेशमा रहेको र अर्की दिदी काठमाडौंमा रहेको अवस्था हुँदा झोक्राएर वस्ने काममा यता दम्पत्ती मात्र रहन पुगेको अवस्था छ । ससुरालीतर्फका आफन्तहरु आएर दैनिक वस्ने र सहयोग गर्ने गरिरहेका छन् । पहिलो दिनदेखि नै पुरोहित नपाएपछि १३ दिनसम्म गरिने काजक्रिया कर्म आफैं गहुँत खाएर ७ दिनमा चोखिने कुरा समेत उनीहरु पुगेका छन् ।
कुनै पनि धर्मग्रन्थले समेत विभेद नगरेको र कानूनले समेत छुवाछुत गर्न नमिल्ने उल्लेख गरेपनि समाजमा दलित भनेर यसखाले भेदभाव रहनु दुखद कुरा भएको विश्वकर्मा समाज १ नम्वर प्रदेशका उपाध्यक्ष नरेश घतानीले वताए । समाजका पथरी शनिश्चरे नगर अध्यक्ष समेत रहेका घतानीले थपे ‘२१ औं शताब्दिमा समेत आफ्नो संस्कार मान्न नपाउने अनि जातीय विभेद सहितको यस्तो गतिविधि कानून र मानवीयताको ठाडो बर्खिलाप हो ।’
उता, नेवार समुदायको जातीय संस्था नेवा खलः पुचः का शनिश्चरे सचिव तुलसीराम श्रेष्ठले मृतक श्रेष्ठका नाता गोता एवम् आफन्तहरुले नै काजक्रियाको कर्मका लागि टाढिएको जनाए । सो कारणले समेत आफुहरुलाई कम मात्रामा रहेको गुजाजुलाई टाढा टाढाबाट खोजेर ल्याउन समस्या परेको दर्शाए । विपन्न परिवारका उनीहरुका लागि स्थानीयले आर्थिक सहयोग जुटाउँदै बाबुको काम सक्ने कार्यमा भनें सहयोग पुर्याउँदै आएको देखिन्छ ।
































