भद्रपुर । झापाको भद्रपुरमा रहेको संस्कृत विद्यालय श्री कृष्ण दै्रपायन गुरुकुल बेद विद्या श्रमले दलित विद्यार्थीलाई भर्ना नगरेपछि तालाबन्दी गरिएको छ । इलाम नगरपालिका–५ बर्वोटेका विकास कार्की डोलीलाई गुरुकुलले भर्ना लिन नमानेपछि नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले विहीबार गुरुकुलमा तालाबन्दी गरेको हो । संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीका अनुसार कार्की डोलीलाई बिर्तामोडका भूवन भट्टराईले भर्नाका लागि गुरुकुल पु¥याएका थिए । भर्नाका लागि गुरुकुलमा पुगेका उनले संस्कृत विद्यालयको प्रशासनलाई आग्रह गर्दा भर्ना लिन अस्वीकार गरेका थिए । सो घटना सार्वजनिक भएपछि झापा जिल्लामा रहेका दलित अधिकारकर्मीले बालबालिकाको मौलिक हकलाई हनन् नगर्न आग्रह गर्दा पनि गुरुकुलले विद्यार्थी भर्ना गर्न नमानेको अध्यक्ष मंग्रातीले बताए । गुरुकुलले दलित विद्यार्थीलाई संस्कृत विद्यालयमा भर्ना लिन नमानेपछि जातीय विभेद गरेको निष्कर्ष निकाल्दै विभिन्न संघ संगठनले दुवै पक्षबीच छलफल गरेर समाधान निकाल्ने प्रयास गरेको थियो । बिहीबार विद्यार्थी संगठन, दलित अधिकारकर्मी, युवा संघ नेपाल, अनेरास्ववियू र गुरुकुल सञ्चालक समितिबीच समाधानको लागि छलफल गरिएको थियो । छलफलमा युवा संघ नेपालका केन्द्रीय सदस्य त्रिलोचन सापकोटाले भर्नाका लागि पुगेका विद्यार्थीलाई भर्ना गर्न अस्वीकार गर्नु जातीय विभेद भएको बताएका छन् । उनले नेपालको संविधानमा जातीय विभेद गर्नु सामाजिक अपराध भएको उल्लेख गरे । समाज रुपान्तरणको अभियानमा जातीय विभेद् गलत संस्कार भएको उनको ठहर छ । विद्यार्थीलाई पठनपाठनको वातावरण सिर्जना नगर्दा हिन्दु धर्ममा यसरी विभेद् हुनुले लज्जाबोध भएको सापकोटाको भनाइ छ । व्यक्तिगत रुपमा बाहिर आवास लिएर पढाइदिने भन्दा उहाँहरुले हैन समुहमानै राखेर अरु सरहनै व्यवहार गर्नुपर्ने माग राखेको गुरुकुलका प्राध्यापक महेन्द्र कुमार भट्टराइले बताए । ‘एउटा विद्यार्थीले गर्दा अन्य विद्यार्थीले छाड्ने भएकोले बरु गुरुकुल बन्दनै गर्नु उपयुक्त भएको उनको भनाइ छ ।’ ‘उहाँहरुले एउटै माग अघि सारेर तालाबन्दी गर्नु भएको छ ।’ ‘यो विषयमा शुक्रबार झापाका प्रमुख जिल्ला अधिकारीले छलफलका लागि बोलाएकोले छलफल पछि निष्कर्षमा पुगिने उनले जनाए । ’ यता गुरुकुल सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईले अहिलेसम्म दलित विद्यार्थी भर्ना गर्नका लागि कोही नआएकाले यस्तो अभ्यास नगरेको प्रतिक्रिया दिए । गुरुकुलको विधानमा व्यवस्था भए अनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने भएकाले भर्ना लिन समस्या भएको उनले बताए । ‘हाम्रा बटुकहरु हरेक दिन धार्मिक कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले दलित विद्यार्थीको संलग्नता व्यवहारिक रुपमा समाजले स्वीकार्देन, त्यसैले भर्ना लिन नमिल्ने, उनले भने । समाधानको प्रयास सफल नभएपछि तालाबन्दी गरेका उनीहरुले जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापन पत्र बुझाएका थिए । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई गुरुकुलभित्र हुने विभेद्लाई अन्त्य गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले समाजमा कुनै पनि विभेद्को घटना हुन नहुने बताए । ज्ञापन पत्र बुझ्दै प्रजिअ दाहाले माग सम्बोधन गर्न सहजीकरण गर्ने प्रतिवद्धता जाहेर गरेको उत्पीडित अधिकार मञ्च नेपालका सचिव सागर पोर्तेलले जानकारी दिए । त्यस्तै अधिकारकर्मीले स्थानीय सरकार भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठलाई पनि ज्ञापनपत्र बुझाएका थिए । देशभरका गुरुकुल, विधापिठमा, सबै जाति,लिङ्गका विधार्थी अध्ययन गर्न पाउनुपर्ने, गुरुकुल आश्रम सञ्चालन पक्षले अमानवीय व्यवहार गरेकोले जातीय छुवाछूत तथा भेदभाव ( कसुर र सजाय) ऐन २०६८ बमोजिम हदैसम्म कारबाही गरिनुपर्ने, दलित भएकै कारण भर्ना लिन अस्वीकार गरेको विद्यार्थीलाई ४८ घण्टाभित्र भर्ना गर्नुपर्ने, कुरिती र कुसंस्कारको संरक्षण गर्ने पाठशाला खारेजी गर्नुपर्ने ज्ञापनमा उल्लेख गरिएको छ ।