पानवारी । किरातीहरुको महान् चाड साकेला उभौलीको अवसरमा धरान–११ का ज्ञानबहादुर माझीलाई घर उपहार दिइएको छ । साकेला उभौलीको अवसरमा पत्रिकार बेचेर गुजारा गर्दै आएका माझीलाई धरान उपमानगरपालिकाका मेयर तारा सुब्बाले सोमबार घरको चाबि हस्तान्तरण गर्दै घर उपहार दिएका हुन् । सुब्बाले चाबी हस्तान्तरण गर्दै गर्दा धरान वडा नम्बर १७ नं.का वडाध्यक्ष मनोज भट्टराईले ढोल बताएका थिए भने १७ नम्बर वडाका वडाध्यक्ष प्रविण राई र किरात राई यायोक्खा सुनसरीका सदस्य एवं सञ्चारकर्मी उपेन्द्र चाम्लिङले झ्याम्टा बजाएका थिए । माझीको घर बनाउन गएको तिहारमा पत्रकारहरुले देउसी खेलेर संकलन गरेको रकम बीउ पुजीको रुपमा राखेर अन्य दाताहरुसँग सहयोग संकलन गरिएको थियो । माझिलाई घरसँगै जीविकोपार्जनको लागी एउटा किराना पसलको व्यवस्था मिलाइएको र उनको बैंक खातामा ४५ हजार नगद समेत जम्मा गरिदिएको घर निर्माणमा सक्रिय रुपमा खटिएका पत्रकार विकास चाम्लिङ राईले बताए । सधैको वर्षझै यस वर्ष पनि धरानका पत्रकारको टोलीले देउसी खेलेको थियो । देउसीबाट संकलन भएको रकम अन्यवर्षमा पनि समाज सेवामा नै खर्च हुने गरेको थियो भने यसबर्ष अलि भिन्न ढंगले समाज सेवामा लगाइएको घर निर्माण समितिका संयोजक पत्रकार जनकऋषि राईले बताए । राईका अनुसार –‘हकरका रुपमा काम गरिरहेका एक सञ्चारकर्मीलाई हामी सञ्चारकर्मीले सहयोग गरेका हौ ।’ इमानदारीताका साथ आफ्नो कर्ममा लागेका माझी शारिरीक रुपमा असक्त रहेका छन् । माझी धरान–११ स्थित रिसोर्ट लाइनको सुकुम्बासी बस्तीमा बस्छन् । उनको त्यही भएको सुकुम्बासी जग्गामा टिनको छाना भएको पक्कि घर तयार भएको हो । माझीको घर निर्माणमा ४ लाख खर्च भएको निर्माण संयोजक राईले जानकारी दिएका छन् । कार्यक्रममा माझीलाई पसल सञ्चालनमा सहयोग गर्दै सञ्चारकर्मी उपेन्द्र चाम्लिङले ११ हजार बराबरको किराना पसलको सामान खरिद गरिदिने बचनदान समेत गरेका थिए । यस अघि पत्रकार जनकऋषी राई तथा विकास चाम्लिङ राई र मजदुरहरुको सहयोगमा असक्त मजदुर पुण्य प्याकुरेललाई समेत घर निर्माण गरि हस्तान्तरण गरिएको थियो । घर हस्तान्तरण कार्यक्रममा बोल्दै धरान उमपहानगरपालिकाका मेयर तारा सुब्बाले ‘यसरी सबै मिलेर समाज निर्माणमा हातेमालो गरेमा देश विकासमा समय नलाग्ने विश्वास माझीको घर निर्माण कार्यले दिलाएको’ भन्दै सबैलाई समाज निर्माणमा लाग्न आग्रह गरेका थिए । त्यस्तै गरी माझीले ‘आफुले जीवनमै नसोचेको उपहार पाएको’ भन्दै सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए । उनले सबैको सहयोगले आफुलाई जीवनमा अघि बढ्न हौसला मिलेको समेत बताएका थिए ।