काठमाडौं । मौसमले साथ दिएमा आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने भएको छ । अत्यधिक सक्रियताको समयमा १५–२० वटा उल्का खसेको देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

नासोका अध्यक्ष सुरेश भट्टराईले दिएको जानकारीअनुसार, आइतबार राति १ बजेदेखि सूर्योदयसम्म उल्का खसेको अवलोकन गर्न पाइने छ ।

वैशाख ५ देखि नै वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) सक्रिय छ । यो वैशाख १२ गतेसम्म सक्रिय रहनेछ ।

उल्का वर्षा के हो ? किन हुन्छ ?

थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा आज राति उल्का वर्षा देखिन्छ । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ ।

पुछ्रेतारा वा धुम्मकेतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन् जुन लाखौं किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धूलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् ।

परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई ‘उल्का वर्षा’ भन्ने गरिन्छ ।

उल्का वर्षालाई नेपाली बोलीचालीमा कतिपयले ‘तारा खसेको’ पनि भन्दछन् ।