करुणाजी, नमस्कार ।

म नेपालका लागि समुन्द्रपार व्यवसायी हुँ । ४७ वर्षीय म निकै आकर्षक पुरुष हुँ भन्ने कुरा मेरा महिला मित्रहरु भन्ने गर्छन् । व्यवसायका लागि देश–देशावर घुम्नुपर्ने भएकाले धेरै महिला मित्रहरुसँग शारीरिक सम्बन्ध स्थापित हुन्छ । विदेशमा हुँदा एकपल्ट चिनजान भएपछि थोरै समयमा पनि मेरा मित्रहरु यौन सम्पर्कका लागि तयार हुन्छन् । नेपालमा पनि महिला मित्रहरुसँग बेला बेलामा अचानक सम्बन्ध स्थापित हुनपुग्छ ।

म कहिल्यै पनि यौनका लागि पैसा वा कुनै किसिमको सेवा प्रदान गर्दिनँ । तैपनि महिलाहरु मसँग किन आकर्षित हुन्छन् भन्ने कुरा सधैं जिज्ञासा रहन्छ । विशेष गरी एकपटक सम्बन्ध स्थापित भएका साथीहरु मसँगै दोहोर्‍याएर सम्बन्ध स्थापित गर्नुपर्ने कारण के हो ?

जवाफ

तपाईंको कुरा रमाइलो लाग्यो । तपाईं पक्कै पनि हँसमुख र आकर्षक पुरुष हुनुहुन्छ भन्ने कुरा तपाईंको लेखाइबाट थाहा हुन्छ । मेरो १५ वर्ष लामो प्राक्टिसका क्रममा देखिएको उदाहरण र विभिन्न सर्वेक्षणहरुको नतिजाका आधारमा महिलाका केही यौनप्रवृत्ति राख्न चाहन्छु ।

महिलाहरु आकर्षक पुरुषसँग तुरुन्तै सम्बन्ध स्थापित गर्छन् भन्ने कुरा गलत हो । किनभने आकर्षक पुरुष वा महिला कसलाई भन्नुहुन्छ भनेर सोध्ने हो भने हरेक व्यक्तिको उत्तर फरक हुन्छ । बरु महिलाहरुमा एउटा विशेष गुण के हुन्छ भने कुनै व्यक्तिले उसलाई पूर्णरुपमा मायासहितको यौनसम्बन्ध स्थापित गर्‍याे भने त्यस्ता पुरुषसँग उनी पटक–पटक सम्बन्ध राख्न चाहन्छिन् । तपाईंको हकमा पनि यस्तै केही विशेष कुराहरु हुनुपर्छ भन्ने कुरा तपाईंका जिज्ञासाबाट थाहा हुन्छ ।

महिलाहरु यौनका बेला के चाहन्छन् भन्ने कुरा बेला बेलामा अध्ययन भएका छन् । ती अध्ययन अनुसार नै आजभोलि मनोबैज्ञानिकहरुले वयस्क पुरुषहरुलाई यौनसाथीहरुसँग गर्ने व्यवहारबारे परामर्श दिने गरेका छन् ।

सम्पूर्ण ध्यान आफूमा केन्द्रित गर्ने महिलाको प्राथमिकता

महिलाहरु आफूलाई समय छुट्याएका बेला पुरुष साथीले केवल आफूलाई मात्र समय देओस् भन्ने चाहन्छन् । सर्वेक्षणमा सहभागी महिलाहरुका अनुसार पुरुष साथीले त्यो बेला वाहिरी व्यक्तिको पटक–पटक फोन उठाएको, सामाजिक सञ्जालमा व्यस्त भएको वा ब्यापार व्यवसायका बारेमा चिन्ता गरेको पटक्कै मनपराउँदैनन् ।

त्यसमध्ये पनि ४२ प्रतिशत महिलाहरु यौनका लागि तयार अवस्थामा केवल यौनका कुरामा फोकस होस् भन्ने चाहन्छन् । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, विभिन्न ठाउँमा चुम्बन जस्ता क्रियाकलाप गरुन् भन्ने चाहन्छन् ।

पाक क्रीडामा कौशल

जब यौनका लागि मानसिक रुपमा महिलाहरु तयार हुन्छन्, उनीहरु पाकक्रिडा सुरु होस् भन्ने चाहन्छन् । धेरै पुरुषहरु सामान्य किसिमका यौन सङ्केतलाई पाकक्रिडा बुझ्छन् र यौन पाकक्रिडाका बेला यौन सम्पर्कका लागि हतारिन्छन् । महिलालाई सबैभन्दा मननपर्ने कुरा यही हो । खासमा यौनको हतारो महिलालाई मनपर्दैन ।

पाकक्रिडा कति लामो गर्ने भन्ने कुरामा पनि धेरै पुरुषलाई समस्या हुन्छ । पुरुषलाई पाकक्रिडाको उति धेरै आवश्यक पर्दैन । हुन त पुरुषहरुमा गरिएको एउटा सर्वेक्षणले उनीहरुलाई पनि पाकक्रिडाको आवश्यकता पर्छ । यद्यपि, महिलाहरुका लागि पाकक्रिडा अनिवार्य नै हन्छ, तर सबै पुरुषलाई पाकक्रिडामा रुचि नहुन सक्छ ।

जे होस्, शीरदेखि पैतालासम्मको पाकक्रिडामा महिलाहरु रुचि राख्छन् । यद्यपि त्यसअघि सरसफाइ महत्वपूर्ण कुरा हो । जो पुरुष पाकक्रिडामा बढी रचनात्मक हुन्छन्, त्यो पुरुषलाई महिलाहरुले उति नै बढि रुचाउँछन् ।

एकपटक सम्पर्कमा आएका कुनै पुरुषलाई महिलाले किन बढि रुचाउँछन् भन्ने तपाई‌ँको प्रश्नको उत्तर पनि यहीँ लुकेको छ ।

सुरक्षा र गोप्यताको प्रश्न

महिलाहरु आफ्नो यौनजीवन अति नै गोप्य राख्न चाहन्छन् । जसले जति बढी गोप्यता र यौनमा सुरक्षा दिन सक्यो, त्यसप्रति महिलाहरु बढी आकर्षित हुने अध्ययनहरुले देखाएका छन् । सुरक्षाको अर्थ कन्डमको प्रयोग, कन्डम प्रयोग नहुने अवस्थामा गर्भ नरहने वा आफूले नै औषधि किनेर खानुपर्ने बाध्यता, दुईबीचको सम्बन्धको सम्मान र गोप्यता जस्ता कुरालाई महिलाले बढी महत्व दिने गर्दछन् । जो पुरुषले यी कुरालाई ध्यान दिन्छ भन्ने महिलाहरुलाई पर्छ, महिलाहरु उनीहरुसँग बढि आकर्षित हुन्छन् ।

मुख्य कुरा सन्तुष्टि

यति हुँदाहुँदै पनि महिलाहरु तृप्तिमा बढी आकर्षित हुन्छन् । यौन तृप्तिको अर्थ लामो समयसम्म पुरुषले सम्भोग गरोस् भन्ने होइन तर सन्तुष्टि प्रदान गरोस् भन्ने अवश्य हो ।

महिलाहरुलाई मनपर्ने आसन र व्यवहारले बढी तृप्ति दिन्छ । त्यसबाहेक शारीरिक सम्पर्कलगत्तै उनीहरुलाई जसले बढी सम्मान र कृतज्ञता प्रदान गर्छ, त्यस्ता पुरुषहरुप्रति उनीहरु बढी सन्तृष्ट हुन्छन् ।

(करुणा कुँवर नेपालकी चर्चित यौन मनोवैज्ञानिक एवं फेमिली थेरापिस्ट हुन् ।)