करिब २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मामलामा बलिउड कलाकार सलमान खानलाई ५ वर्षको जेल सजाय तोकिएको छ । जोधपुर अदालतले सलमानलाई ५ वर्ष जेल सजाय तोकेको हो । सलमानलाई अदालतबाट हिरासतमा लिइएको छ । उनलाई जोधपुरको सेन्ट्रल जेलमा राखिने भएको छ । उनलाई १० हजार जरिवाना पनि तोकिएको छ । सलमान योसँगै वितग २० वर्षमा पटकपटक जेल गएका छन् । सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमान लगायत पाँचजना विरुद्ध वैष्णोइ समाजले मुद्दा हालेको थियो । सलमान खानले सन् १९९८ को सेप्टेम्बर २६ र २८ मा दुई काला हरिणको शिकार गरेको आरोप लागेको थियो। उनलाई हरिणको शिकार गर्ने उक्साएको आरोप लागेका अभिनेता सैफ अलि खानलाई भने सफाइ दिइएको छ । सलमान खानले यो सजायविरुद्ध अपील गर्नसक्ने छन् । र, यसका लागि पहल गर्ने उनका वकीलहरूले बताएका छन् । सलमान खानका साथै अभिनेता सैफअलि खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमविरुद्ध मुद्दा चलाइएको थियो । जोधपुर अदालतले बिहीबार सलमान खानलाई दोषी करार गरेको हो भने अन्यलाई सफाइ दिएको छ । सलमान खानका वकीलले अदालतमा तीन वर्षभन्दा कमको सजाय माग गरेका थिए । सलमान लगायत अन्य कलाकार २० वर्ष पहिले ’हम साथ साथ हैं’ फिल्म सुटिङका लागि जोधपुर गएका बेला शिकार खेलेका थिए । यो मुद्दा भारतको वन्यजन्तु कानुन अन्तर्गत दर्ता गरिएको थियो । जसमा दोषी पाइएकालाई छ वर्ष सम्मको जेल सजायको प्रावधान रहेको छ । सलमान खानले भने आफूमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै आएका थिए । उनका वकीलले सलमानलाई फसाइएको बताएका छन् । सलमान खान आफ्नी दुई बहिनीसँग जोधपुर अदालत पुगेका थिए ।