भद्रपुर/खुकुरी प्रहारबाट झापाको भद्रपुरमा दुई प्रहरी कर्मचारी गम्भिर घाइते भएका छन् । खुकुरी प्रहारबाट महेशपुर प्रहरी चौकी इञ्चार्ज असई प्रकाश खवास र प्रहरी जवान पूण्यप्रसाद पोखरेल गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मादक पदार्थ सेवन गरी प्रहरी माथि खुकुरी प्रहार गर्ने भद्रपुर ४ स्थित महेशपुरका अन्दाजी ३३ बर्षीय सुभाष राईलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । घाइते प्रहरी खवासको टाउकोमा र प्रहरी जवान पोखरेलको देव्रे हात र टाउकोमा चोट लागेको छ । घाइते मध्ये प्रहरी जवान पोखरेलको अवस्था गम्भिर रहेको डिएसपी बस्नेतले जानकारी दिए ।
मेची अञ्चल अस्पातल भद्रपुरमा उपचार संम्भव नभएपछि दुवै प्रहरीलाई थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको जनाइएको छ । प्रहरीका अनुसार भद्रपुर ४ स्थित महेशपुरमा लागेको पुराण स्थलमा मंगलबार राती साढे ९ बजे राईले गस्तीमा खटिएका प्रहरी माथि खुकुरी प्रहार गरेका थिए । घट्नापछि खुकुरीसहित पक्राउ परेका राईलाइ ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।