बेइजिङ/ आफ्नी छोरीको पर्खाइमा २४ वर्ष सम्म यो चिनियाँ जोडीले अनेक हन्डर खायो। २४ वर्ष अगाडि हराएकी वाङ मिङकिङ र लिउ डेनिन २४ वर्ष अगाडि हराएकी चार वर्षकी छोरी क्यूफेनको खोजीमा दैनिक भौतारिहे। यसबिचमा पिता कहिले ट्याक्सी ड्राइभर बने कहिले के तर छोरी फेला पार्ने आश भने मारेनन्।

कुनै दिन छोरी आफ्नो प्यासेन्जर बनेर ट्याक्सी चढ्ने छिन् भन्ने उनको आशा थियो। आफ्नी छोरीको पर्खाइमा रहेको समाचारले चीनलाई तरंगीत गरायो। यही समाचारले अहिले उनलाई छोरीसँग मिलन गराइदिएको छ।

चार वर्षिय छोरीलाई साथमा लिएर उनी पसमा गएका थिए। केही समयमा नै छोरी हराइन्। त्यसपछि उनले छोरीको खोजीमा वर्षौँ सहरहरू चहारे। पत्रपत्रिकामा विज्ञापन निकाले, अनलाइनमा अपिल जारी गरे। अर्की एक छोरी र एक छोरा भएको यो दम्पतीले कहिल्यै पनि चेङ्डु छाडेन्। छोरी खोज्दै खोज्दै आउने आशमा उनीहरूले यो सहरलाई कहिल्यै छाड्न चाहेनन्।

सन् २०१५ मा वाङले छोरीको खोजिलाई व्यापाक बनाउनका लागि ट्याक्सी ड्राइभर बन्ने निधो गरे। उनले राइड हेलिङ कम्पनीमा ड्राइभरको रूपमा काम सुरु गरे।

आफ्नो ट्याक्सीमा चढ्ने हरेक यात्रुलाई आफ्नी छोरीको बारेमा जानकारी सहितको पर्चा दिन्थे। उनीसँग हराएकी छोरीको तस्बिर थिएन्। उनले आफ्नी अर्की छोरीको तस्बिर सहित पर्चा बनाएका थिए। दुबै छोरी उस्तै थिए।

उनको छोरी खोज्ने यो तरिकाले चिनियाँ सञ्चार माध्यमलाई तान्यो। ‘एक दिन मेरी छोरी मेरै कारमा बस्नेछिन्’ उनको यो आशा नारा जस्तै थियो।

यतिका वर्ष चिनियाँ प्रहरीले उनकी छोरी हुन सक्ने भन्दै कैयौँ महिलाहरूलाई उपस्थित गरायो। तर डिएन परीक्षण विपरीत हुन्थ्यो।

उनको छोरी खोजीको अभियानले गत वर्ष नयाँ उचाइ पायो। प्रहरीका स्केच आर्टिस्टले उनको बयानका आधारमा उनी छोरी वयस्क अवस्थामा यस्तो हुन सक्ने भन्दै स्केच तयार पारिदिए। स्केच सबै मिडियामा प्रकाशित भए, अनलाई तथा सामाजिक सञ्जालमा व्यापक भयो।

देशको अर्को कुनामा रहेकी उनकी छोरीले स्केच देखेपछि अचम्मित भए। यति बेला उनको नाम क्यूफेनबाट काङ यीन भइसकेको थियो। उनलाई एक दम्पतीले धर्मपुत्रीको रूपमा स्वीकार गरेका थिए।

उनलाई ती दम्पतीले चेङडुकै सडक किनारमा फेला पारेका थिए। उनले वाङसँग यस वर्षको सुरुवातमै सम्पर्क गरिन्। उनले उनकी हराएकी छोरी जस्तै आफू भएको बताएकी थिइन्।

लगत्तै वाङले डिएनए परीक्षणको व्यवस्था गरे। यसपालि भने डिएनए रिपोर्ट पोजेटिभ भेटियो। सोमबार वाङले आफ्नी छोरीसँग फेरी कुरा गरे। ‘अब देखि तिम्रो पिता तिमीसँग छ, तिमीले कुनै चिन्ता लिनुपर्दैन्, तिम्रो बाबुले सहयोग गर्ने छ,’ उनले छोरीसँग भनेका थिए।

मंगलबार मात्र यो परिवारको पुनःमिलन भएको छ। उत्तरी जिलिन प्रान्तमा बस्ने उनी आफ्ना पति छोरा छोरीसँग त्यहाँबाट चेङ्डु उत्रिएकी छन्।

‘यो विश्वले मलाई मेरी आमा नभएको भन्यो, अब म भन्छु मसँग आमा हुनुहुन्छ,’ काङले भनेकी छन्।