बीबीसी/ उत्तर कोरिया र दक्षिण कोरियाका प्रमुखबीच तय भएको ऐतिहासिक बैठकको मिति सार्वजानिक गरिएको छ । उत्तर कोरियाली नेता किम जोङ र दक्षिणका राष्ट्रपति मुन जे इनले ११ वर्षपछि पहिलो पटक आउँदो अप्रिल २७ मा सीमा क्षेत्रमा रहेको पान्मुन्जोम गाउँमा भेट गर्ने बताइएको छ ।
दुवै देशका अधिकारीहरुले सो घोषणा गर्नुअघि यसै बैठकको तयारीका गर्न छलफल कार्यक्रम आयोजना गरेका थिए । चिनियाँ राष्ट्रपति जिङपिङ र नेता किमबीच भएको भेटको एकदिनपछि नै सो मिति सार्वजानिक गरिएको हो । बेइजिङमा भएको छलफलमा किमले हतियार कार्यक्रम बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेको चीनको भनाइ छ ।
त्यसैले पनि दक्षिण कोरिया यस ऐतिहासिक कार्यक्रमप्रति धेरै आशावादी रहेको बताइएको छ ।
यसअघि उत्तर कोरिया र दक्षिण कोरियाका नेताबीचको औपचारिक बैठक २००७ मा मात्र भएको थियो । त्यसबेलाका उत्तर कोरियाली नेता किम जोङ इलले कोरियाली राष्ट्रपति रोह मु ह्युनसँग राजधानी प्योङयोङमै भेट गरेका थिए । त्यो भन्दा अगाडि सन् २००० मा यसै प्रकारको भेटवार्ता भएपनि सफल हुन सकेको थिएन । त्यसैले कोरियाली युद्धपछि दुवै प्रमुखहरुबीच यो तेस्रो भेट हुने बताइएको छ । त्यसैगरी यस बैठकपछि दक्षिण कोरियामा पाइला टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुनेछन् ।
तर सो कार्यक्रमपूर्व दुवै देशका अधिकारी बीच फेरि पनि उच्च स्तरीय छलफल आवश्यक रहेको बताइएको छ ।
उता अचानक बेइजिङ भ्रमणमा गएर किमले दक्षिण कोरिया र अमेरिकालाई फेरि आश्चर्यमा पारेका छन् । चिनियाँ संचार माध्यमले जनाए अनुसार किमले दुवै मुलुकका प्रमुखसँग भेट गर्ने चाहाना व्यक्त गरेका छन् । महिनौँको गालीगलौज पश्चात् पनि ट्रम्पले एकैपटक किमसँग भेट गर्न सहमति जनाउनुले विश्वलाई नै आश्चर्यमा पारेको थियो ।
तरपनि ट्रम्प र किमबीचको सम्भावित वार्ता दक्षिण कोरियासँगको बैठकपछि मात्र सुनिश्चित हुन सक्ने अमेरिकी अधिकारीहरुको भनाइ छ । किनकी राष्ट्रपति मुनसँगको छलफलपछि मात्र अमेरिकाले किमको वास्तविक रणनीतिबारे संकेत पाउन सक्ने र वासिङटनलाई त्यसै अनुरुपको तयारी गर्न मद्दत पुग्ने बताइएको छ ।