काठमाडौं/ रूसले अमेरिकाका ६० जना कूटनीतिज्ञलाई निकाल्ने र सेन्ट पीटर्सबर्ग कन्सुलेट बन्द गर्ने निर्णय गरेको छ । उसले अमेरिकी कूटनीतिज्ञलाई रुस छाड्न एक साताको समयावधी पनि तोकिदिएको छ ।
रूसले ब्रिटेनमा रुसी जासुसलाई विष दिएको घटनामा अमेरिकाका तर्फबाट गरिएको कारवाहीको जवाफमा यस्तो कदम उठाएको हो । रूसका विदेश मन्त्री सर्गेई लावरोवले रूसका कूटनीतिज्ञलाई निकाला गर्ने देशहरुले ‘समान’ जवाफको अपेक्षा राख्नुपर्ने बताएका छन् । रूसका पूर्व जासुस सर्गेई स्क्रिपल र उनकी छोरी यूलिया बीती मार्च ४ मा ब्रिटेनको सेलिस्बरी शहरमा बेहोस अवस्थामा फेला परेका थिए । ब्रिटेन सरकारले यो घटनामा रूसको जिम्मेवार भएको बताएको थियो ।
ब्रिटेनसँग ऐक्यवद्धता जनाउँदै २० भन्दा बढी देशहरुले आफ्नो मुलुकबाट रूसका कयौं कूटनीतिज्ञहरुलाई निकाला गरिसकेका छन् । जसमा अमेरिका पनि सहभागि रहेको छ । अमेरिकाले यसै साता रूसका ६० कूटनीतिज्ञलाई आफ्नो देश छाड्न निर्देशन दिँदै सिएटलमा रहेको दूतावास बन्द गरिदिएको थियो ।