म्याग्दी/ जिल्लाको मालिका गाउँपालिका-२ बेली, रुमका धन बहादुर रोका र लिलमती रोकालाई आशा थियो वैदेशिक रोजगारीमा गएका छोराहरूले पठाएको सम्पतीले बुढेसकालको जीवन सुखसयलमा बित्ला। तर सोजे जस्तो कहाँ हुन्थ्यो र ?
रोका दम्पतीका तीन छोराले वैदेशिक रोजगारीकै सिलसिलामा ज्यान गुमाउनुपरेको छ। धन कमाउन विदेश पुगेका तीनै छोराको निधन भएपछि यति बेला रोका दम्पती सन्तान, सहारा र सम्पत्तिविहीन बनेका छन्। रोजगारीको सिलसिलामा मलेसियामा रहेका रोका दम्पतीका कान्छो छोरो धर्मलालको यही चैत १० गते राति निधन भएको छ। साढे चार वर्षदेखि एक अपार्टमेन्ट कम्पनीमा सुरक्षा गार्डको रूपमा कार्यरत २८ वर्षीय धर्मलाल कुर्चीमै मृत अवस्थामा फेला परेका थिए।
यसअघि रोका परिवारका माइला छोरो भक्त बहादुर रोकाको समेत रोजगारीको सिलसिलामै करिब १२ वर्ष अगाडि कतारमा ज्यान गएको थियो। उनको निधन भएको १८ महिनापछि फेरि जेठा छोरो तम बहादुर रोकाको मलेसियामा ज्यान गयो। वैदेशिक रोजगारीकै क्रममा तीन छोरा गुमेपछि रोका दम्पती विक्षिप्त छन् भने सिंगो गाउँ नै स्तब्ध बनेको छ। आफूहरूको सहारा बनेर बिरामी पर्दा उपचार र घरखर्च प्रवासमा रोजगारी गरी जुटाउँदै आएका कान्छो छोरो धर्मलालको समेत विदेशमै मृत्यु भएको खबरले ६५ वर्षीया आमा लिलमती र ६९ वर्षीय बुबा धन बहादुर आफूलाई सम्हाल्न नसक्ने भएका छन्। रोका दम्पतीका चार भाइ छोरा हुन्। साइँला छोरो थमबहादुर रोका पनि हालै रोजगारीकै क्रममा मलेसियाबाट फर्किएर आएका हुन्। आम्दानी राम्रो नभएपछि जागिर छाडेर घर आएका थमबहादुर भाइ गुमेको पीडाले विक्षिप्त छन्। 'दुई दाइको पहिल्यै दुःखद निधन भएको थियो, भाइ र मैले जेनतेन घरलाई सम्हालेका थियौँ, अहिले फेरि भाइको पनि अकल्पनीय मृत्यु भयो,' आफू फर्कने बेलामा भाइलाई भेट गरेको क्षण सम्झँदै उनले भने, 'दसैँमा आएर घरजम गर्छु भन्थ्यो। अहिले यस्तो खबर सुन्नु पर्यो।' रासस