टाइम म्यागेजिनको सय जना प्रभावशाली व्यक्ति सूचीको दाबेदारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अग्रपंक्तिमा रहेका छन्।

त्यस्तै उनीसँगै माइक्रोसफ्टका भारतीय मूलका सीईओ सत्या नडेला, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा चीनका राष्ट्रपति सि जिनपिङ पनि प्रतिस्पर्धामा रहेका छन् । टाइमको सूचीमा समसामयिक विश्वमा प्रभाव पार्ने व्यक्तिलाई सहभागी गरिन्छ ।

टाइमले हरेक वर्ष विभिन्न क्षेत्रमा प्रभाव पार्ने प्रभावशाली व्यक्तिहरुको सूची निकाल्ने गर्दछ । यसमा विश्वभरमा आ–आफ्ना क्षेत्रमा उल्लेखनीय काम गर्ने कलाकार, नेता, वैज्ञानिक तथा उद्योगीहरु पर्ने गर्छन् ।

यस वर्षको सूची आउँदो महिना सार्वजनिक हुनेछ । प्रभावशाली व्यक्तिको सूची टाइमका सम्पादकहरुको टिमले तयार पार्दछ । तर यस वर्ष टाइमले पाठकहरुलाई पनि प्रभावशाली व्यक्ति छानोट गर्न अनलाइन भोट गर्ने व्यवस्था मिलाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०१६ तथा २०१७ टाइमको प्रभावशाली सूचीका लागि प्रतिस्पर्धामा थिए । टाइमका सम्पादकले मोदीलाई सन् २०१५ मा १०० सर्वाधिक प्रभावशाली व्यक्तिको सूचीमा राखेका थिए ।

पत्रिकाका लागि पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोदीका बारेमा एउटा लेख लेखेका थिए।