कैलाली/ कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमथि गोली प्रहार भएको छ। घरमै बसिरहेका बेला सोमबार साँझ चौधरीमाथि आक्रमण भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

उनको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको प्रहरी निरीक्षक कर्णसिंह कार्कीले बताए। घाइते चौधरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि कोहलपुर लगिएको प्रहरीले जनाएको छ।

उनको अवस्था अहिले गम्भीर छ। उनलाई घोडाघोडी अस्पतालमा प्राथमिक उपचार गरेपछि कोहलपुर अस्पतालमा रिफर गरिएको हो।

सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले चौधरीमाथि गोली प्रहार र आक्रमण गरेका थिए।

चौधरीमाथि आक्रमण गरेपछि दुई जना मोटरसाईकलमा र दुई जना मोटरसाइकल छोडेर नगर प्रमुखको घरबाट पश्चिमतर्फ रहेको जंगलतिर भागेका थिए। से२प ३६७१ नम्बरको मोटरसाईकल प्रहरीले नगर प्रमुखको घरबाट बरामद गरेको छ। सो मोटरसाइकलमा आक्रमणकारी आएका थिए।

चौधरीको घरभन्दा ३० मिटर दूरीमा रहेका रामबहादुर महराले भने, 'आक्रमण हुन थालेपछि नगर प्रमुख चौधरीले बचाउ बचाउ भनेको सुनेर घरमा पुग्दा आक्रमणकारी भागे।' महराले नै चौधरीलाई सुखडको घोडाघोडी अस्पतालमा मोटरसाइकलमा राखेर पुर्‍याएका थिए।

प्रारम्भिक अनुसन्धान अनुसार बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्नेलाई जोगाउन खोजेका मेयर चौधरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।

विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी इन्चार्ज महानको हस्ताक्षरमा सोमबार बिहान नगर प्रमुख चौधरीलाई कारबाही गर्ने भनेर विज्ञप्ति जारी भएको थियो।

गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको छ। मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीलाई प्रहरीबाट छुटाउन खोजेका थिए।