चक्रघट्टि लक्ष्मी बैंकटेश मन्दिर निर्माणार्थ आयोजना गरिएको श्रीमद्भावगवत सप्ताह धनधान्याञ्चल विराट ज्ञान महायज्ञको मंगलबार प्रदेश १ का प्रमुख प्राडा गोविन्द तुम्वाहाङले उद्घाटन गरेका छन् । मन्दिर चार करोडको बजेटमा निर्माण हुँदैछ । महायज्ञ २२ गते मंगलबार देखि ३० गते बुधबार सम्म सन्चालन हुनेछ । महायज्ञ उद्घाटन पूर्व प्रदेश प्रमुख तुम्वाहाङलाई हात्तीमा राखेर नगर परिक्रमा गराइएको थियो । मन्दिर दक्षिण भारतीय शैलीमा निर्माण हुने पीठाधीश श्रीनिवासाचार्य स्वामीले बताए । मन्दिरको २२ लाख ९७ हजारमा जग र छत ढलाई यस अघि नै सम्पन्न भइसकेको छ । मंगलबार आयोजित कलश यात्रासँगै महायज्ञको उद्घाटन गरिएको छ । बेलुका ४ बजे महाआरती गरिनेछ । हप्ता दिनसम्म चल्ने महायज्ञमा २३ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मण्डप पूजा, ९ बजेदेखि ११ बजेसम्म मूल पाठपारायण, ११ बजेदेखि ४ बजेसम्म कथावाचन, ४ बजेदेखि साडे ५ बजेसम्म महाआरती, बेलुका ७ बजेदेखि साडे ९ बजेसम्म महात्म्य तथा भजनकृतन, झाँकी, नाट्य तथा देवलीला दर्शन हुनेछ । फागुन २९ गते लक्ष्यवर्ती दीपप्रज्ज्वलन र फागुन ३० गते तिलार्चन, पूर्णाहुति, व्रतबन्ध तथा समापन कार्यक्रम हुने कपिल आचार्यले जानकारी दिए ।