काठमाडौ/ युवती अपहरण कार्यमा संलग्न रहेको आरोपमा सुनसरीबाट ५ जना पक्राउ परेका छन् । स्थानीय युवतीलाई जबरजस्ती मोटरसाइकलमा हालेर वेपत्ता पारेको उजुरी पश्चात खोजीका क्रममा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका २ बस्ने वर्ष २५ को नजिम साफी सहित सोही स्थानका वर्ष २९ को शमसाद अन्सारी, वर्ष ४५ को अकबर साफी, वर्ष २९ को आलम साफी र इटहरी उपमहानगरपालिका ९ बस्ने विशाल राई रहेका छन् ।

अपहरणकारीहरुले पीडित पक्ष समक्ष फिरौतीका लागि पटक–पटक दबाब दिएको प्रहरी अनुसन्धानका क्रममा खुल्न आएको छ ।

स्थानीय १८ वर्षीय युवतीलाई सोही स्थानका जाकिर साफी र हजरत साफीले जबरजस्ती मोटरसाइकलमा हालेर वेपत्ता पारेको भनी परिवारले प्रहरीमा उजुरी गरेको थियो । घटनाबारे जानकारी पश्चात केटी पक्षले वेपत्ता पार्ने समूहका आफन्तलाई फिर्ताका लागि आग्रह गरे पनि युवती वेपत्ता पार्ने कार्यमा संलग्न भनिएका हजरतका दाजु आलम साफीले उल्टै फिरौतीका लागि नगद ५ लाख दाबी गरेपछि घटना प्रहरीसम्म पुगेको थियो ।

पटक पटक पीडित परिवार समक्ष अपहरणकारी समूहले रकमको मोलमोलाई गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।

केटी पक्षलाई रकमका लागि ताकेता गर्दै तत्काल २५ हजार बुझाउन भनेपछि केटी पक्षले इटहरी–९ का विशाल राईको नाममा आइएमई गरेको पाइएको प्रहरी अनुसन्धानको क्रममा फेला परेको डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

रकम बुझाएपनि युवती फिर्ता नभएपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी गरेसँगै अनुसन्धान थालेको प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

पक्राउ परेकाहरु उपर अपहरण तथा शरिर बन्धक मुद्दा दर्ता गरि थरी म्याद थप गरिएको छ ।

यता, प्रहरीले अपहरणकारी पक्राउ गरेपनि वेपत्ता युवतीको अवस्था भने यकिन हुन नसकेको जनाएको छ । युवतीको खोजी कार्य जारी रहेको समेत डिएसपी चिमोरियाले जानकारी दिए ।