थापाले आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले दुई तिहाई बहुमत पुर्याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने विचार व्यक्त गरे ।
फरक प्रशंगमा उनले विपक्षी दलको भूमिका अहिले गुण र दोषका आधारमा सरकारलाई सहयोग र विरोध मात्रै नभएर संविधानको मर्मअनुसार सरकार चल्यो कि चलेन भनेर त्यसको रखवाली गर्ने काम पनि भएको स्पष्ट पारे ।
यसैगरी नेपाल तरुण दल भारत महाराष्ट्रका सचिव पूर्णकान्त पौडेलले नेता थापालाई प्रवासी नेपालीका समस्याका बारेमा अवगत गराउनु भएको छ । आज यहाँ पौडेलले थापासँग भेट गरी नेपालबाट भारतमा रोजगारी, अध्ययन, व्यवसाय गरी बसेका नेपालीका अनगिन्ती समस्या भएको र त्यसको सरकारले सम्बोधन गर्न नसकेको जानकारी गराउनु भएको थियो ।
भारतमा रहेका नेपाली भारतीय सरकारबाट विभिन्न खालका विभेद्मा परेको भन्दै उनले सरकारीस्तरबाट त्यस्ता विभेद् हटाउन पहल गरिनुपर्ने बताए । भारतमा रहेका नेपाली सीमामा आवतजावत् गर्दा असुरक्षित हुने, भारतबाट नेपालमा सञ्चार सम्बन्ध गर्दा महँगो शुल्क तिर्नुपर्ने, नेपाली महिला यौन हिंसामापर्ने, श्रम शोषण हुने, परिचयपत्रको मान्यतामा विभेद्, के कति नेपाली भारतमा छन्, तथ्यांक नभएको, मृत्युपछि शव नेपालमा पठाउन कठिन हुने जस्ता समस्या नेपालीले भारतमा भोग्दै आएका छन् ।
भारतमा रहेका नेपालीको समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने सो अवसरमा नेता थापाले आश्वासन दिए ।
रासस