बलिउड अभिनेत्री रिया सेनले निर्देशकसँग सुत्दैमा फिल्म पाउन नसकिने बताएकी छिन् । एक साताअघि निर्मात्री एकता कपुरले कतिपय हिरोइनले फिल्ममा काम पाउनका लागि निर्देशकको ओछ्यान तताउने गरेको टिप्पणी गरेकी थिइन् ।

एक अंग्रेजी पत्रिकासँग कुरा गर्दै रियाले आफु अहिलेसम्म यौन दुब्र्यबहारको शिकार नभएको भन्दै निर्देशकसँग सुत्दैमा फिल्म पाउने सम्भावना नरहेको बताएकी हुन् ।

‘हरेकको आ-आफ्नै सोच हुन्छ । सफलता त्यति सजिलै पाइदैन । निर्देशकसँग सुत्दैमा फिल्म पाइन्छ भन्नु गलत हो,’ उनले भनिन् ।

रियाकी आमा मुनमुन सेन र हजुरआमा सुचित्रा सेन बलिउड एवं बंगाली सिनेमाका प्रसिद्ध नायिका हुन् । रियालाई लाग्छ, गैरफिल्म परिवारका कतिपय युवती कास्टिङ काउचको शिकार हुन्छन् ।

कतिपय नयाँ कलाकारलाई फिल्ममा काम कसरी पाइन्छ भन्ने जानकारी नभएको पनि हुनसक्ने उल्लेख गर्दै रियाले भनिन्, ‘कसैसँग सुत्दैमा सफलता पाइदैन भनेर उनीहरुलाई सचेत गराउन जरुरी छ ।’

रियाले दमन, परिणीता, सी कम्पनि, तीन पत्तीलगायतका फिल्ममा काम गरेकी छिन् । हिन्दीको साथै केही बंगाली फिल्ममा पनि उनले काम गरेकी छिन् ।