आईपीएल लिलामी अन्तिम हुनै लाग्दा तेस्रो पटकको अक्सनबाट क्रिस गेललाई खरिद गरेर चर्चित बनेको प्रीति जिन्टाको किंग्स इलेभन पञ्जावमाथि कप्तानको संकट देखिएको छ।

लिलामीपछि धेरै टिम अहिले द्विविधामा छन्, जसमध्ये पञ्जाव सर्वाधिक ठूलो संकटमा देखिएको छ भने कोलकाता नाइट राइडर्स पनि कप्तानका विषयमा अन्योलमै रहेका छन्। दुवै टिम सर्वमान्य खेलाडीको अभावमा कसलाई कप्तान बनाउने भन्ने निर्णयमा पुग्न नसक्दा समस्या बढेको हो। त्यसो त हरेक टिमले राम्रा खेलाडी खरिद गरेका छन्।

तर दुवै टिममा यस्तो अनुहार छैन, जो कप्तानको नेतृत्व लिएको राम्रो अनुभव भएको र सर्वसम्मत दाबेदार होस्। त्यसकै कारण पञ्जावले आफ्नो आधिकारिक वेवसाइटमा केही खेलाडीको लिष्ट सार्वजानिक गर्दे कसलाई कप्तानको रूपमा देख्न चाहनुहुन्छ? भन्दै आफ्ना समर्थकसँग सुझाव मागेको छ।

पञ्जावको अहिलेको टिममा पाँच खेलाडी छन्, जसलाई जारी सिजन कप्तानको भूमिका दिन सकिन्छ। यस्तोमा पञ्जावका लागि सर्वाधिक अघि रहेका छन्- पूर्व चेन्नाइका खेलाडी रवीचन्द्र आश्विन। उनलाई नै कप्तानको जिम्मेवारी दिने सम्भावना बलियो छ। आश्विनबाहेक युवराज सिंह, क्रिस गेल, एरोन फिन्च र अक्सर पटेललाई पनि कप्तान बन्न सक्ने खेलाडीका रूपमा हेरिएको छ।

पञ्जावले सार्वजानिक गरेको लिष्टमा पनि सर्वाधिक अघि आश्विनको नाम रहेको छ। यस्तोमा टिम कस्तो खेलाडीलाई दिने भन्ने विषयमा टिम व्यवस्थापक र प्रशिक्षक वीरेन्द्र सहवाको हातमा रहेको छ, जसले यो सिजन प्रीति जिन्टालाई आईपीएल उपाधि दिलाओस्। पञ्जाव समर्थकलाई यो पनि जानकारी होस्की कि अघिल्लो सिजन पनि पञ्जावले निरन्तर कप्तान परिर्वतन गरेको थियो।

यसका कारण टिमको प्रदर्शन अस्थिर रहेको थियो। अघिल्लो सिजनमा पञ्जावले सात खेलमा मात्र जीत निकालेको थियो, जसमा सात खेलमा हार व्यहोर्‍यो। यसका कारण पञ्जाव अंक तालिकामा पाँचौँ स्थानमा रहँदै आईपीएलको अन्त्य गर्न बाध्य भयो।