काँकडभिट्टा/ झापाको काँकडभिट्टामा रहेको सशस्त्र प्रहरी बल राजश्व तथा सुरक्षा गुल्म (बेस क्याम्प) भाडाका भरमा सञ्चालनमा रहेको छ । काँकडभिट्टाको शिवालय मन्दिरले खर्च अभाव भएका व्यक्ति तथा असहायका लागि बस्ने व्यवस्था गर्ने उद्देश्यले निर्माण गरिएको धर्मशालामा मासिक १५ हजार भाडा तिरेर सशस्त्रको टोली बस्दै आएको हो । सशस्त्र प्रहरीलाई द्वन्द्वकालको समयमा भन्सारको सुरक्षा तथा राजश्व संकलनका लागि राखिएको थियो । पछि सशस्त्रले सुरक्षाको पनि जिम्मेवारी पाएको हो । एकजना प्रहरी नायब उपरीक्षक र एकजना प्रहरी निरीक्षकसहित ७५ जनाको दरबन्दी रहेको यस बेस क्याम्पमा हाल ९० जना बस्दै आएका छन् । पूर्वी नाका काँकडभिट्टा सुरक्षा र राजश्व छलीका दृष्टिले संवेदनशील क्षेत्र हो । मन्दिरले धर्मशालाका रुपमा निर्माण गरेका पाँच कोठा र पछि सशस्त्रले अरु पाँचवटा कोठा निर्माण गरेको थियो । जसमा एउटा कोठामा प्रनाउ र एउटामा प्रनि बस्दै आएका छन्, अन्य बाँकीमा सबै अटाउनुपर्ने बाध्यता छ । “आलोपालो अटाएर बसेका छौँ”, प्रनाउ बस्नेतले भने, “पहिलेदेखि जसरी सञ्चालन भएको छ त्यसलाई अहिलेसम्म व्यवस्थापन गरेर दुःखका साथ बसेका छौँ ।” प्रनाउ बस्नेतले राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म भएको हुनाले कामको जिम्मेवारी पनि बढी हुने र बसाइँको व्यवस्थापन पनि सहज नभएकाले जतिसक्दो चाँडो जग्गा व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको बताए । विसं २०७१ मा यो क्याम्पलाई स्थायित्व गर्नका लागि मेचीनगरका राजनीतिक दलले पहलसमेत गरेका थिए ।