चितवन । त्रिशुली र कालीगण्डकी नदीको संगमस्थल पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्ति मेला भर्न आउनेहरुको भिड बढ्न थालेको छ । हरेक वर्ष माघ १ गते तनहुँ र चितवनको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला लाग्दै आएको छ । मेला स्थलमा हिन्दी गीतहरु बजाउन रोक लगाइएको छ । मदिरा, धुमपान, मद्यपान र मासु सेवनलाई रोक लगाइएको छ ।

देवघाटको संगमस्थलमा नुहाउनका लागि देशका विभिन्न भागहरुबाट भक्तजनहरु यहाँ आउने गर्दछन् । आइतबार राति नै देवघाटमा आएर भजनकिर्तन गर्ने, धुनी जगाउने र माघे संक्रान्तिको दिनमा नुहाउने गर्दछन् ।

देवघाट क्षेत्र विकास समितिले मेला व्यवस्थापनको लागि १५१ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरी आवश्यक तयारी पूरा गरेकोे देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए । डिभिजन सडक कार्यालय भरतपुरको सहयोगमा देवघाट जाने सडकको मर्मत गरिएको छ भने, मेला अवधिभर बिजुली नजाने व्यवस्था गरिएको छ । ‘बिजुलीको समस्या नहोस् भनेर विद्युत् प्राधिकरण भरतपुरले बढी क्षमताको ट्रान्समिटर जोडेको छ,’ अध्यक्ष पौडेलले भने ।

आकस्मिक उद्धार एवम् सुरक्षाको व्यवस्थापन, प्राथमिक स्वास्थ्य उपचार, शौचालय, बिजुलीलगायतको व्यवस्थामा कुनै कमजोरी नहुने गरी तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । यस वर्ष वृद्धवृद्धालाई लाइनमा बस्न नपर्ने व्यवस्था गरिएको छ । डुंगा र र्‍याफ्टिङ सयरमा अशक्त, अपांग, वृद्धवृद्धाहरुलाई निःशुल्क गरिएको छ ।

देवघाटतर्फ जाने र आउने झोलुङे पुलमा एकपटकमा चितवनतर्फबाट ५० जना र तनहुँ तर्फबाट ५० जना आउन जान मिल्ने गरी व्यवस्था मिलाइएको छ । २०३७ सालमा बनेको पूल जीर्ण बनेकाले कुनै दुर्घटना नहोस् भनेर सुरक्षा सतर्कता अपनाइएको छ ।

मेलास्थलमा निषेध गरिएको मदिरा सेवन गरे प्रशासनले नियन्त्रणमा लिने देवघाट मेला व्यवस्थापन समितिले जनाएको छ । मेला स्थलमा भक्तजनको सुरक्षाको लागि पर्याप्तमात्रामा सुरक्षाकर्मी खटाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

रामनगर, दासढुंगा, ठिमुरा र आँपटारीमा प्रवेशद्वार बनाइएको छ । मेला स्थलमा व्यवसाय गर्नेहरुले चर्को मूल्यमा सामग्रीहरु बेचबिखन भएको गुनासो बढेपछि यस वर्षदेखि मेला व्यवस्थापन समितिले नै मुख्य सामग्रीहरुको मूल्य तोकेको छ । ‘कालो चिया १० रुपैयाँ, पानी २० रुपैयाँ, दूध हालेको चिया १५ रुपैयाँ भन्दा बढी लिन पाइदैन,’ अध्यक्ष पौडेलले भने, ‘कुनै व्यवसायले तोकिएको मूल्यभन्दा बढी रकम लिए कारबाही हुनेछ ।’

मेलास्थलमा जान चितवनतर्फबाट २ वटा बाटो खुला गरिएको छ । काठमाडौं, पोखराबाट आउने दर्शनार्थीहरुले दासढुंगाको बाटो भएर देवघाट मेलामा आउनेछन् । पूर्वबाट आउने दर्शनार्थीहरुले रामनगरको बाटो भएर देवघाट मेलामा पुग्नेछन् । मेलाबाट फर्कने दर्शनार्थीहरुले आँपटारीको बाटो प्रयोग गर्नेछन् । देवघाटमा मेला भर्न ४ लाखभन्दा बढी भक्तजन आउने दावी क्षेत्र विकास समितिको छ ।