शनिश्चरे । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट जनता र देशको समग्र उन्नती भएको देशवासीले हेर्न चाहेको बताएकी छन् ।
आइतबार दक्षिणी इलामको चुलाचुली १ स्थित फाल्गुनन्द लफयङ्ग वहुभाषिक पाठशालाको दोश्रो वार्षिक उत्सवको उद्घाटन तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्दको पूर्ण कदको शालिक अनावरणपछि राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।
उनले भनिन् ‘जनताले देशमा अमन चयन भएको तथा आर्थिक, सामाजिक तथा शैक्षिक परिवर्तन हेर्न चाहेका छन्, त्यो अवको निर्वाचनपछि कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ ।’
राष्ट्रीय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सुदृढ समाजका लागि महिलालाई सम्मान गर्दै मैत्रीपूर्ण ब्यवहार गर्नु पर्ने सन्देश दिनु भएको समेत भण्डारीले बताइन् । फाल्गुनन्दको उपदेशहरु अहिले पनि उत्तीकै सान्र्दिभक रहेको जनाइन् ।
कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले महागुरु फाल्गुनन्द अब एक जातिका मात्र गुरु नभएर सबै जातजातिका गुरु भएको बताए । उनले अबदेखि हरेक वर्ष कात्तिक २५ गते सार्वजनिक विदा दिनका लागि सरकारसँग अनुरोध समेत गरेका छन् ।
कार्यक्रममा बोल्ने क्रममा अर्का वक्ता भौतिक योजना तथा आवास राज्यमन्त्री केशव थापाले हिजोका कमी कमजोरीलाई सबैले सच्याउँदै अवको निर्वाचनमार्फत मुलुकमा नयाँ संविधानको व्यवहारिक कार्यान्वयनका लागि सवै मिलेर अगाडि बड्नु पर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा, धर्म संरक्षक गुरु लफयङ देवबहादुर तुम्वापोलाई उनको ७५ औं जन्मोत्सवको अवसरमा दोसल्ला ओढाएर सम्मानित गर्दै भण्डारी उपहार समेत प्रदान गरिन ।
१५ लाख रुपैयाँको लागतमा फाल्गुनन्दको पूर्णकदको शालिक निर्माण गरिदिने चुलाचुली निवासी बमबहादुर चेम्जोङ , मूर्तिकार विक्रमश्रि र बराह ज्वलर्सका प्रमुख मानबहादुर दियालीलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरिन् । फाल्गुनन्द लफयङ पत्रकारिता पुरस्कारबाट ब्लाष्ट टाइम्स पत्रिकाका पत्रकार शेखरनाथ योगीलाई पुरस्कृत गरिएको पाठशालाका अध्यक्ष डम्बर तुम्वापोले जनाए ।