चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुदलीय जनवादलाई आधार मान्दै पार्टी एकता गर्न सकिने बताएका छन् ।
चितवन क्षेत्र नं ३ मा उनको अस्थायी निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिद्धान्तको पछि लागेर अब जनतालाई दुःख दिन नहुने बताए । उनले भने, “मान्छेका लागि सिद्धान्त हो, सिद्धान्तका लागि मान्छे होइन ।”
पार्टी एकता गर्दै गर्दा सिद्धान्तका विषयमा हुन सक्ने मतभेदका विषयमा प्रचण्डले भने, “बहुदलीय जनवादलाई आधार बनाएर एकता गर्दै जाऔँ, नमिलेका कुरा छलफल गरी टुंग्याउँदै लैजाऔँ । यो बढी राष्ट्रको हितमा हुन्छ ।”
माक्सवाद–लेनिनवाद दुवै पार्टीको मिल्ने सिद्धान्त भएको भन्दै उनले भने, “समाजवाद अबको हाम्रो उद्देश्य हो, रणनीति हाम्रो समाजवाद हो ।
शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवाद सम्भव भएको विचार पनि उनले व्यक्त गरे । दुवै पार्टी एकीकरण हुँदा देखापर्ने माओवादीको विषयलाई महाधिवेशनसम्ममा छलफल गरेर टुंगोमा पु¥याउन सकिने उनले बताए ।
आफू राजनीतिमा लागेपछि १० वर्ष विचार र संगठन निर्माणमा र त्यसपछिको १० वर्ष गणतन्त्र र शान्ति प्रक्रियामा बितेको स्मरण गर्दै उनले अबको १० वर्ष देशलाई समृद्धितर्फ डो¥याउन पहल गर्ने बताए ।
पछिल्लो समय रोल्पा र रुकुममा माओवादी केन्द्रका उम्मेदवारमाथि भएका आक्रमणको उनले भत्र्सना पनि गरे । निर्वाचनको संघारमा दुई पार्टी एकताको कुरा टुंगोमा पुगेकाले तत्काल संसद्मा प्रमुख कार्यकारीको विषय प्रवेश गराउन नभ्याएको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले यसका लागि दुई तिहाइ बहुमत बनाएर संसद्मा लैजानु पर्ने र निर्वाचनपछि यो विषय अगाडि बढ्ने पनि बताए ।
चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएपछि अध्यक्ष प्रचण्डले राष्ट्रिय सञ्चार माध्यममा चितवनबाट समाचार पठाउने पत्रकारलाई आफ्नै निवासमा डाकेर पहिलोपटक प्रतिक्रिया दिएका हुन् । उनले सोमवारनै पश्चिम चितवन पार्वतीपुरमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरेका थिए ।