इटहरी/ उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली काँग्रेसले जिम्मेवारीपूर्वक कार्य गर्दै आएको कुरा सबै नेपाली जनताका माझमा छर्लङ्ग रहेकाले कुनै पनि शक्तिले काँग्रेसलाई हराउन नसक्ने ठोकुवा गरे।
उपप्रधानमन्त्री गच्छदारले वाम गठबन्धन अर्थात् कम्युनिष्टको अस्वस्थ मिलनको गठबन्धनले लोकतन्त्र र नेपाली जनताको भाग्य र भविष्यका लागि बारम्बार आहुति दिँदै आएको काँग्रेसलाई हानी नपुग्ने दाबीसमेत गरे ।
उनले सुनसरीको इटहरीमा काँग्रेसले स्थापना गरेको मिडिया सेन्टरको आज उद्घाटन समारोहपछि बोल्नु हुँदा उक्त दाबी गरेकाे हाे ।
उपप्रधानमन्त्री गच्छदारले देशलाई समृद्ध बनाउनका लागि काँग्रेसले अवलम्बन गरेको स्वतन्त्र आर्थिक नीति र विकासप्रति इमान्दार भएर नेपाली जनतालाई सक्षम तुल्याउन गरेको प्रयत्न नै काँग्रेसले जित्ने एकमात्र मूल कारण रहेको पनि स्पष्ट पारे ।
उनले नेपालमा प्रजातन्त्र आएपछि वामपन्थीको नेतृत्वमा पनि सरकार बनेको दृष्टान्त प्रस्तुत गर्दै काँग्रेस नेतृत्वका सरकारले गरेको शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, भौतिक पूर्वाधार र जलविद्युत योजना उदाहरणीय रहेको पनि खुलस्त पारे ।
सोही प्रसंगमा उपप्रधानमन्त्री गच्छदारले महामानव बिपी कोइरालाले कल्पना गरेको प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा उतार्न धेरै प्रयत्न गरेको र त्यसको उदाहरणस्वरुप विकास योजना गरिबको विकासलाई लक्षित गरेर ल्याएको कुरा भुल्नु हुँदैन भन्दै उनले राजधानी जोड्ने छोटो दूरीको सिन्धुली सडकदेखि मध्यपहाडी क्षेत्र हुँदै राजधानी काठमाडौँ जोड्न तयार हुँदै गरेको मध्यपहाडी सडक आदि पनि त्यसैका ज्वलन्त उदाहरण हुन्, नेता गच्छदारले उल्लेख गरे ।
रासस