भद्रपुर । नेपाली काँग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले मतदाता सार्वभौम भएकोले उच्चतम विवेग प्रयोग गरेर मतदाताले मत दिनेमा विश्वस्त रहेको बताएका छन् । झापा क्षेत्र नम्बर ३ वाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेका नेता सिटौलाले विहीवार विहान भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
संविधान सभाको दोस्रो निर्वाचनमा आफुले जनातासंग गरेको वाचा पुरा गरेको स्मरण गराउदै सिटौलाले सवै ठुला दलसंग समन्वयकारी भुमिका खेलेर संविधान निर्माणमा आफु सफल भएकोले जनताले आफुलाइ धोका नदिने धारणा राखेका थिए । समानुपातिक र प्रत्यक्षमा कुनै फरक नभएपनि क्षेत्र नम्बर ३ मा जनआन्दोलन,सहिदको रगत , यहाको माटोमा गहिरो सम्बन्ध र १२ बुदे हुदै शान्ति प्रक्रिया सम्म पुगेर संविधान निर्माणमा मेरो भुमिका रहेकोले आफुले प्रत्यक्षमा नै उम्मेदवारी दिएको उनले बताएका छन् । राप्रपाले गणतन्त्र स्वीकार नगरिरहेको अवस्थामा क्षेत्र नम्बर ३ मा भएको बाम गठबन्धन आफुलाइ अचम्म लागेको उल्लेख गरेका छन् । नेपालका केहि स्थानमा काँग्रेसले गठबन्धन गरेकोमा आफुलाई ठिक नभएको विषयमा पार्टी कार्यालयमा कुरा उठाएको समेत उनले बताए । लोकतान्त्रिक वा बाम गठबन्धन जे भएपनि ०४६ र ६२।६३को आन्दोलन कहिल्यै भुल्न नहुने उनको बुझाई थियो ।
आफुले सरकारमा रहेर होस वा अन्यत्र जे भएपनि क्षेत्र नम्बर ३मा साढे ३ अर्ब रुपैयाको बहुवर्षे योजनाहरु ल्याएको दाबी गरेका थिए । मेची अञ्चल अस्पतालमा होमोडायालासिस, आइसियु सेवा जस्ता महत्वपुर्ण सुविधा ल्याउनमा आफ्नो पहल रहेको बताएका छन् । अस्पतालको नयाँ भवनको लागि ३४ करोडको योजना स्विकृत भइसकेको समेत उनले जानकारी गराए । अबको एक वर्ष भित्र आफ्नो क्षेत्रमा सवै ग्राभेल सडक कालोपत्रे भइसक्ने उध्घोष गरेका छन् । चारआली– केचना, हुलाकी सडक, स्व.गिरीजा कोइराला सभागृह निर्माणाधिन अवस्थामा रहेको उल्लेख गरेका थिए । हात्ती आतंकको रोकथामको लागि करिब आठ करोड बजेट समेत विनियोजन भइसकेको उनले बताए । झापाको दक्षिणी क्षेत्रमा भएका योजना आफ्नो प्रयत्नले आएको उल्लेख गर्दै यो क्षेत्रका मतदाताले आफुलाइ मत दिएर विजयी गराउनेमा आफु ढुक्क रहेको बताएका छन् । मेरो उम्मेदवार बामगठबन्धनसंग नभई लोकतन्त्रसंग भएको प्रष्ट पारेका थिए । कार्यक्रममा पार्टी प्रनिनिधि,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।