शनिश्चरे/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई मोरङ ३ मा बहुमतका साथ विजयी गराउन प्रचार प्रसार कार्यलाई व्यवस्थित र प्रभावकारी पार्ने योजना बनाइएको छ ।

बाम गठबन्धनको निर्वाचन परिचालन समिति अन्तर्गत गठित सूचना तथा सञ्चार उपसमितिको पथरीशनिश्चरेमा विहीवार सम्पन्न बैठकमा त्यसखाले योजना बनाइएको हो ।

निर्वाचन परिचालन समितिका संयोजक चण्डीप्रसाद राई, सहसंयोजक लालबहादुर सुस्लिङ मगर, प्रदेश ‘क’ का सचिव दिननाथ तिम्सिनाले बाम गठबन्धनलाई कार्यकर्ता र मतदातातहसम्म प्रतिवद्ध गठबन्धन बनाएर बहुमतले विजय हाँसिल गर्न सकिने बताए । जसका लागि सञ्चारमाध्यमहरुका साथै प्रचार प्रसारका अन्य साधनबाट प्रचार प्रसार व्यवस्थित र प्रभावकारी बनाउने कुरामा सूचना तथा सञ्चालन उपसमितिको सक्रियताको आवश्यकता उनीहरुले औंल्याइएका छन् ।

बैठकमा प्रचार प्रसारलाई प्रभावकारी बनाउने सम्बन्धमा सूचना तथा सञ्चार उपसमितिले निर्वाचन परिचालन समितिलाई योजना पेश गरी त्यसबारे विस्तृत जानकारी गराएको उपसमिति सचिव मोहन भट्टराईले जनाए । सोही दिन बेलबारीमा आर्थिक उपसमितिको बैठक बसी निर्वाचन परिचालन कार्यलाई प्रभावकारी बनाउन आर्थिक व्यवस्थापनका बारेमा योजना बनाएको उपसमिति संयोजक अर्जुन क्षेत्रीले बताए । आर्थिक योजनाका बारेमा निर्वाचन परिचालन स्टेरिङ कमिटीसँग पथरीमा छलफल भएको छ ।

मंसिर २१ मा हुने निर्वाचनमा बाम गठबन्धनका तर्फबाट मोरङ ३ मा प्रतिनिधिसभातर्फ एमालेका प्रभावशाली नेताका रुपमा चिनिने पोलिटव्यूरो सदस्य भानुभक्त ढकाल, प्रदेश ‘क’ तर्फबाट माओवादीकी युवा नेत्री गीता तिम्सिना र ‘ख’ तर्फबाट एमालेका युवा नेता राजकुमार ओझा उम्मेदवार रहेका छन् । उनीहरु क्षेत्रका पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैंचाका बाम गठबन्धनका रणनीतिक योजना तथा निर्वाचन गतिविधिमा सामेल बन्दै प्रचार प्रसार कार्यलाई तीव्रता दिने संघारमा छन् ।