जनकपुरधाम/ प्रधानमन्त्री शेरबहाखुर देउवाले निर्वाचनलाई भय र त्रासबाट मुक्त बनाउने वातावरण निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सन्दर्भमा गृह मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित २ नं प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले जनताले निर्बाध रूपमा निर्वाचनमा मतदान गर्ने वातावरण निर्माणका लागि चाहिने आवश्यकताको परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको छ भने ।

प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जोखिममा पुर्याउने कुनै पनि गतिविधि हुन नदिन सबै सजग हुनु जरूरी रहेकाे बताए । उनले लोकतन्त्रको आधार निर्वाचन भएकाले जनताले इच्छा गरेकालाई मतदान गर्ने कार्यमा कुनै पनि पक्षबाट हस्तक्षेप हुन नदिई सुरक्षित तवरले निर्वाचन सम्पन्न गराउने कार्यप्रति सुरक्षा संयन्त्र गम्भीर हुनुपर्दछ भने ।

प्रधानमन्त्री देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र संविधान कार्यान्वयन सन्दर्भमा समेत निर्वाचनलाई भयमुक्त बनाउनुपर्ने खाँचोमा जोड दिए।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले विगतमा सुरक्षाको कमजोरीले नभई राजनीतिक दलको अस्वस्थ प्रतिस्पर्धाले केही घटना घटित भएकाले भयमुक्त वातावरणलाई अझ प्रभावकारी एकीकृत सुरक्षा योजना तयार गरिएको जानकारी दिए ।

नियतवश कतिपय स्थानमा निर्वाचन अधिकृतले निर्वाचनको स्वच्छतामाथि प्रश्नचिह्न लाग्ने गतिविधि गरेकाप्रति यसपटक निर्वाचन आयोगले गम्भीरतापूर्वक लिएको पनि बताए ।

गृहसचिव मोहनकृष्ण सापकोटा र सहसचिव नारायणप्रसाद शर्माले संघीयता कार्यान्वयन दिशामा निर्वाचन कोशेढुङ्गा साबित हुने धारणा राखे।