विराटनगर/आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै १ नम्बर प्रदेशमा चुनावी सरगर्मी बढेको छ ।१४ जिल्ला रहेको प्रदेश नम्बर–१ मा दुई चरणमा निर्वाचन हुँदैछ ।

विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो भाग केचनाकलनसम्म समेटिएको प्रदेश नम्बर–१ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

प्रदेशका १४ जिल्लामध्ये हिमाली एवं पहाडी भेगका ७ ओटा जिल्लाहरु सोलुखुम्बु,, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङमा पहिलो चरणअन्र्तगत् मंसिर १० गते निर्वाचन हुँदैछ भने पहाडी एवं तराईका थप ७ जिल्लाहरु इलाम, उदयपुर, तेह्रथुम, धनकुटा, झापा, मोरङ र सुनसरीमा दोस्रो चरणअन्तर्गत् मंसिर २१ मा निर्वाचन हुनेछ ।

क्षेत्रीय निर्वाचन कार्यालयकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा १ नम्बर प्रदेशका १४ जिल्लामा २९ लाख ९३ हजार ६ सय ६९ मतदाता रहेका छन् ।

जसमध्ये पुरुष १५ लाख ८ हजार ७६६, महिला १४ लाख ८४ हजार ८८७ र अन्य लैंगिक समुदायका मतदाताको संख्या १६ रहेको छ ।

प्रदेश नम्बर–१ को मतदाता संख्यालाई जिल्लागत आधारमा हेर्दा पहिलो चरण मंसिर १० मा निर्वाचन हुने सोलुखुम्बुमा ६९ हजार ४४२, संखुवासभामा १ लाख ५ हजार ६१, भोजपुरमा १ लाख १३ हजार ८९६, ओखलढुंगामा १ लाख २ हजार २६३, ताप्लेजुङमा ७८ हजार ४११, पाँचथरमा १ लाख २५ हजार २२२ र खोटाङमा १ लाख २५ हजार १७८ मतदाता रहेका छन् ।

यस्तै, दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने इलाममा २ लाख ४ हजार ५०, उदयपुरमा १ लाख ९३ हजार ९१३, तेह्रथुममा ६६ हजार ७४१, धनकुटामा १ लाख ५ हजार १९९, झापामा ५ लाख ८५ हजार २२८ र सुनसरीमा ४ लाख ७४ हजार ३०० मतदाता कायम छन् ।

मुलुकमै सबैभन्दा बढी ६ लाख ४४ हजार ७८२ मतदाता भएका मोरङमा पनि दोस्रो चरणमै निर्वाचन हुने कार्यतालिका रहेको छ । मतदातको हिसाबमा काठमाडौं दोस्रो र तेस्रोमा झापा रहेको छ ।

१ नम्बर प्रदेशका मतदाताहरुले पहिलो र दोस्रो चरणमा गरी २८ प्रतिनिधिसभा सदस्य र ५६ प्रदेशसभा सदस्यका लागि मतदान गर्नेछन् ।

जसमा १ नम्बर प्रदेशअन्तर्गत् पर्ने मोरङ जिल्लाबाट सबैभन्दा बढी ६ जना प्रतिनिधिसभा सदस्य र १२ जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् भने प्रतिनिधिसभातर्फ झापामा ५, सुनसरीमा ४, इलाम र उदयपुरमा २र२ र पहाडी भेगका अन्य ९ जिल्लामा १र१ जना तथा प्रदेशसभामा त्यसको दोब्बर संख्यामा प्रतिनिधि चयन हुनेछन् ।

यस प्रदेशमा राजनीतिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभातर्फ २८७ र प्रदेशसभातर्फ ४७० गरी कुल ७५७ उम्मेदवार चुनावी मैदानमा छन् ।

१ नम्बर प्रदेशमा समग्रमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक र नेकपा एमाले—माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनबीच नै प्रतिस्पर्धा हुने अवस्था रहेको छ ।

इमेजखबर