भद्रपुर । राप्रपा झापा क्षेत्र नम्बर ३ क्षेत्रीय समितिले पार्टीका महामन्त्री राजेन्द्र लिङदेनलाई क्षेत्र नम्बर ३ वाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ ।
आगामी मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन उम्मेदवार छनौट र भावी चुनावी रणनीतिको बारेमा कचनकलव गाउँपालिकास्थित बनियानीमा बसेको क्षेत्रीय बैठकले महामन्त्री लिङदेनको नाम सिफारिस गरेको हो ।
त्यस्तै क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यका लागि नवराज पनेरु (राजु) को नाम सिफारिस गरेको छ । पनेरु स्थानीय तह निर्वाचनमा भद्रपुर नगरपालिकाका लागि राप्रपाबाट मेयर पदमा उठेका थिए । प्रतिनिधिसभा समानुपातिक उम्मेदवार तर्फ राधा कार्की, सीता लम्साल र लक्ष्मी साँवाको नाम सिफारिस गरेको छ । कार्की स्थानीय तह निर्वाचनमा भद्रपुरमा उपमेयर पदका उम्मेदवार बनेकी थिइन् । त्यसैगरी प्रदेशसभा समानुपातिक उम्मेदवार तर्फ सत्यनारायण यादव, रवि ओझा, रुद्रमणि अर्याल र कृष्ण सुब्बाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले सिफारिस गरेकोे नामावली जिल्ला कार्य समितिमा पठाउने निर्णय गरिएको क्षेत्रीय अध्यक्ष पनेरुले जानकारी गराए । पार्टीका महामन्त्री लिङदेनको प्रमुख आतिथ्यता भएको बैठकमा क्षेत्रीय (क) उपसमितिको अध्यक्षमा सत्यनारायण यादवको अध्यक्षतमा २७ सदस्य समिति गठन गरेको क्षेत्रीय प्रवक्ता ऋषिप्रसाद नेपालले जानकारी दिए । बैठकमा कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, जिल्ला सहसचिव रुद्रमणि अर्याल लगायलते सुझाव राखेका थिए ।