धरान/‘वाम तालमेल र एकीकरण’को घोषणापछि सार्वजनिक मञ्चमा पहिलो पटक प्रस्तुत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस विरुद्ध खनिएका छन् ।
एमाले ललितपुरद्वारा आयोजित शुभकामना आदान–प्रदान र पार्टी प्रवेश कार्यक्रममा उनले ०४६ को परिवर्तनको शीर्ष नेतृत्व गरेका गणेशमान सिंहले समेत काम छैन भनेर छोडेको कांग्रेस ‘आउटडेटेड’ भइसकेको टिप्पणी गरे ।
उखान र छेडखानमा माहिर अध्यक्ष ओलीले कांग्रेसलाई ‘बिग्रेको मोटरसाइकल’को संज्ञा दिन भ्याए । “नेपाली जनताले मोटरसाइकलको टायर फेरे, ट्युब टाले, मर्मतसमेत गरे । अब त कामै लाग्न छाड्यो, कवाडीमा पनि नबिक्ने भयो कांग्रेस,” उनको कटाक्ष थियो ।
“इतिहासको कुरा गर्छ कांग्रेस, इतिहास राणाहरूको पनि थियो, राजाहरूको पनि नभएको होइन, इतिहास छ भन्दैमा सधैँ खान पाइँदैन,” उनको तर्क थियो ।
उनले दुई चारजना कांग्रेसका नेता र तिनका परिवारलाई पोस्न नेपाली जनताले भोट खेर हाल्नु नहुने जिकिर गरे ।
उनले कांग्रेस सिँढी ओर्लिएजसरी तल खस्किइरहेको बताउँदै मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा धेरै खुट्किला तल झर्ने ठोकुवा गरे ।
“हिजोबाट हामीले वामपन्थी ध्रुवीकरणको आरम्भ गरिसकेका छौँ, एमालेकै नेतृत्वमा सवै वाम एकै ठाउँ आउँछन्, एमालेकै नेतृत्वमा दुई तिहाई बहुमत ल्याउँछौँ,” ओलीको दाबी थियो । उनले एमालेको नेतृत्वमा दुई तिहाइ बहुमत ल्याएर जालझेलको राजनीतिको अन्त्य गरिदिने दाबी समेत गरे ।
माओवादीसमेत सूर्य चिह्नमै लड्छ हिजो केपी ओली एक्लिएको, एमाले एक्लिएको भन्नेहरू आज छाँगाबाट खसेझैँ भएको ओलीको टिप्पणी थियो ।
“केपी ओली एक्लियो, एमाले एक्लियो भनेर खिसी पनि गरे,” कार्यक्रममा ओलीले भने, “फेरि फर्केर आउन सक्छन् भन्ने ख्याल भएन तिनीहरूलाई ।”
उनले एमालेलाई मधेसविरोधी भन्नेहरू पनि अन्ततः सूर्य चिह्नमै चुनाव लड्न लागेको बताउँदै नयाँ शक्तिले सूर्य छाप लिएरै मैदानमा उत्रनु परिस्थिति निकै अघि बढिसकेको पुष्टि भएको बताए ।
उनले हिजो राष्ट्रिय सभागृहमा भएको तालमेलको घोषणालाई केहीले हठात् भएको टिप्पणी गरेको भन्दै कसलाई सोधेर समझदारी गर्नुपर्यो ? भन्दै प्रश्न गरे । उनले माओवादी समेत सूर्य चिह्नमै चुनाव लड्ने दाबी पनि गरे ।
“२९ गतेसम्म पर्खन्छु, सुरूमा त प्रचण्डजीहरू राजी हुनु भएको थियो । पछि कसले के भनिदियो, आशा गर्छु, अन्तिममा आउनुहोला,” उनले अन्तिममा भने ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य बाबुकाजी शाक्यसहित विभिन्न पार्टी परित्याग गरि ५० बढी कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।बाह्खरीबाट