काठमाण्डौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई दुई नम्बर क्षेत्रबाट बढार्ने नेपाली कांग्रेसको षड्यन्त्रलाई पार्टी संगठनले असफल बनाएको बताएका छन् । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर १५ एकाइ कमिटीले बुधबार गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा सरकारले धाँधली गरेपनि सफल भएको आरोप लगाएका हुन् ।
निर्वाचनमा एमालेलाई प्रवेशै हुन नदिने ढंगले सरकारले नांगो रुपमा धाँधली गरेको बताएका छन् । पहिलो र दोस्रो चरणमा पहिलो पार्टीको रुपमा आपूmलाई जनतामाझ स्थापित गराउन सफल भएको एमालेलाई तेस्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा प्रवेशै हुन नदिने षड्यन्त्र सरकारले गरेको दाबी उनले गरे । नेता खनालले आफ्ना उम्मेदबारको घर घरमा बम विष्फोट गराउने, धम्क्याउने लगायतका काम भए पनि एमालेलाई दुई नम्बर क्षेत्रबाट बढार्ने नेपाली कांग्रेसको षड्यन्त्रलाई पार्टी संगठनले असफल बनाएको दाबी गरे । उनले सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले गरेको षड्यन्त्र र धाँधलीको बाबजुत पनि एमालेले सिट संख्याको आधारमा पाँचौं र मतका आधारमा दोस्रो स्थान हासिल गर्न सफल भएको उल्लेख गरे । नेता खनालले संविधान र आचारसंहिताको उल्लंघन गर्दै सरकारले जम्बो मन्त्रिमण्डल बनाएको आरोप पनि लगाए ।