काठमाडौं/साध्वीहरूलाई बलात्कार गरेको आरोपमा सजाय भोगिरहेका राम रहीमकी प्रियपात्र हनीप्रीतले जमानतका लागि निवेदन पेश गरेकी छन् । आफूलाई लागूऔषध व्यापारीहरूबाट लगातार ज्यान मार्ने धम्की आएको उनले निवेदनमा उल्लेख गरेकी छन् ।
आफू एकल महिला भएको र विगतको जिन्दगी आदर्शपूर्ण रहेको उनको भनाइ छ । हनीप्रीतका वकिलले दिल्ली उच्च अदालतमा यो निवेदन पेश गरेका हुन् । उनले हनीप्रीतबाट सोमवार लाजपतनगरस्थित कार्यालयमा निवेदनमा हस्ताक्षर गराएको दाबी गरेका छन् । वकिलको भनाइबाट हनीप्रीत दिल्लीमा कतै लुकेर बसेको थाहा लागेको छ ।
हनीप्रीतले प्रहरी अनुसन्धानलाई सघाउने इच्छा व्यक्त गरेकी छन् । आफूलाई लगातार धम्की आएको भएपनि कानूनको पालना गर्ने र अनुसन्धानमा सहयोग गर्ने इच्छा हनीप्रीतले देखाएकी हुन् । हनीप्रीतले निवेदनमा आफूलाई एकल महिला बताएपनि उनको बिहे भइसकेको छ । राम रहीमसँग उनको सम्बन्धका विषयमा धेरै समाचारहरू प्रकाशित भएका छन् । हनीप्रीतका पूर्वपति विश्वास गुप्ताले चार दिनअघि उनी राम रहीमकी छोरी नभई प्रेमिका भएको बताएका थिए ।
गुप्ताले भने, ‘सन् २०११ मा राम रहीम र मेरो कोठा सँगसँगै थियो । मैले एक रात कोठामा दुवैजनालाई नग्न अवस्थामा भेटें । राम रहीमले मलाई यस विषयमा कसैसँग कुरा गरेमा ज्यान मार्ने धम्की दिएका थिए ।’ राम रहीमलाई बलात्कार मुद्दामा दोषी ठहर गरिएपछि भएका विभिन्न हिंसाका घटना भड्काउन तथा राम रहीमलाई प्रहरीको नियन्त्रणबाट भगाउनका लागि हनीप्रीतले षड्यन्त्र गरेको आरोप छ । पञ्चकूला अदालतले उनीविरुद्ध पक्राउपुर्जी जारी गरेको छ । हनीप्रीतले पक्राउबाट बच्नका लागि जमानत निवेदन अर्थात् ट्रान्जिट इन्टरिम बेल पेटिसन दिएकी हुन् ।
अर्को जिल्ला वा राज्यको अदालतमा यस्तो निवेदन दिन पाइने व्यवस्था छ । एजेन्सी