नेपाल बैंक (NBL) ले आफ्नो स्वामित्वमा रहेको डिप्रोक्स लघुवित्त विकास बैंकको सेयर फेरि लिलामीमा राखेको छ । बैंकले शिलबन्दी बोलपत्र आह्वान गरी ५१ हजार ७५८ कित्ता साधारण शेयर लिलामीमा राखेको हो । यसअघि असोज ४ गतेसम्म एक लाख ८० हजार ३७८ कित्ता साधारण शेयर बोलकबोल बिक्री खुल्ला गरेको बैंकले उक्त लिलामीमा बिक्न नसकेको सेयर फेरि लिलामीमा राखेको हो। बजार मूल्यको हाराहारीमा न्युनतम मूल्य तोकेर सेयर लिलाममा राखेका कारण डिप्रोक्स लघुवित्तको सबै सेयर बिक्री हुन सकेको थिएन । फेरि पनि प्रतिकित्ता १२ सय रुपैयाँ नै न्यूनतम मूल्य तोकेको छ । आइतबार दोस्रोबजारमा लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १२६६ रुपैयाँ कारोबार भएको थियो । बैंकले लघुवित्तको साधारण शेयर किन्न इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाले प्रतिकित्ता १२ सय रुपैयाँ भन्दा कम नराखी असोज २३ गतेसम्म आवेदन गर्न पाउनेछन् । लिलामीको सेयरमा परेको शिलबन्दी बोलपत्र असोज २४ गते विहान ७ बजे बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा खोलिने छ। नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको २ लाख ११ हजार ५१५ कित्ता संस्थापक सेयर पनि बिक्री गर्ने प्रकृयामा छ । तीन हजार ५० रुपैंया न्युनतम मूल्यमा उक्त सेयर बिक्री गरेर बैंकले साढे ६४ लाख रुपैंया आम्दानी गर्ने योजना बनाएको छ ।