धरान/किरातेश्वर कृषि सहकारी संस्थाले तेस्रो साधारण सभा शनिबार सम्पन्न गरेको छ ।

धरान–२० विष्णुपादुका क्षेत्रमा सहकारीले ४५ लाख एकसय ५५ रुपैयाको आयव्ययसमेत सार्वजनिक गरेको छ । सहकारीले हाल बंगुर पालनलाई विशेष प्राथमिकतामा राखेको छ । त्यस्तै सहकारीको क्षेत्रमा विभिन्न कृषिजन्य उत्पादनहरुलाई पनि जोड दिएको अध्यक्ष पून्यबहादुर राईले बताए ।
उनले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन एकसाथ पेश गरेका थिए । संस्थाले सरकारी कार्यालयबाट प्राप्त गरेको अनुदान रकम तथा सामग्रीहरु बारेसमेत जानकारी गराइएको सचिव टेकबहादुर राईले बताए । जिल्ला पशु सेवा कार्यालयबाट ८ लाख ३० हजार रुपैया अनुदान प्राप्त गरेका उनले बताए । त्यस्तै जिल्ला कृषि कार्यालयबाट सिचाईको लागि ९० हजार रुपैया बराबरको २० एमएमको पाइप प्राप्त गरेको छ ।
जसमा कृषिले ७० प्रतिशत अनुदान र संस्थाले ३० प्रतिशत खर्च बेहोरेको थियो । साथै, सोलार पम्प, मुत्र संकलनको लागि तीनवटा ड्रमसमेत प्राप्त गरेको बताइएको थियो । ६१ जना सेयर सदस्यहरु रहेको संस्थाले १० वर्षमा मात्रै लाभासं बाड्ने नीति अघि सारेको छ । पूर्वमन्त्री गोपाल किरातीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।