इटहरी/क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले आगामी असोज १ गते देखी एक नम्बर प्रदेशमा सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् ।

हर्न बजार जुनसुकै सडकमा गुड्ने सवारीले पनि जरिवाना तिर्नु पर्नेछ । इटहरीमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको पूर्ण कार्यान्वयन नहुँदै पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले एक नम्वर प्रदेशमै हर्न निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेश नम्वर एकको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय विराटनरको निर्देशनमा यो अभियान शुरु गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख राजकुमार लम्सालले बताए । पूर्वमै पहिलो पटक इटहरी शहरलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको भए पनि १ नम्बर प्रदेशलाई नै हर्न निषेधीत क्षेत्र बनाउन सचेतनाका कार्यक्रम शुरु गरिएको र भदौ महिना भरी यो अभियान सञ्चालन हुने उनले बताए ।

नेपाल सरकारले हर्न निषेधलाई कडाईका साथ पालन गराउने निर्देशन भएपछि ट्राफिक प्रहरी कार्यलयले यस्तो तयारी थालेको हो । भर्खरै सरुवा भएर क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी आएका एसपी लम्सालले पूर्वको ट्राफिक व्यवस्थापनलाई सुधार गर्ने योजना सहित कार्यान्वयनमा जाने बताए । पहिलो चरणमा काठमाण्डौँमा यसको प्रयोग गरेको थियो भने पूर्वमा इटहरीबाट यो अभियान शूरु गरिएको थियो । तर, इटहरीमा सुरु भएको हर्न निषेधको प्रभाव खासै पर्न सकेको छैन । हर्न नबजाउने विषयमा आवश्यक तयारीसँगै सवारी चालक, यात्रु र स्थानियहरुलाई यस विषयमा सचेतनाका कार्यक्रम पनिसँगै गर्दै जाने ट्राफिक प्रमुख लम्सालले बताए ।

यस अघि हर्न निषेधित क्षेत्र घोषणा गरिए पछि नियम उल्लङ्घन गरेको अभियोगमा ६८ वटा सवारी साधन कारवाहीमा परि सकेका छन् । तर, हर्न बजाउन अभ्यस्त भएका सवारी चालकहरुले हर्न निषेधित क्षेत्रको पूर्ण कार्यान्वयन गरेको पाइदैन । हर्न निषेधित क्षेत्रकै कतिपय सडक विग्रीएर खाल्डाखुल्डी भएको कारण पनि सवारी चालकहरुलाई हर्न बजाउन बाध्यता भएको सवारी चालकहरु बताउँछन् । सडक पेटी अतिक्रमण हुन र सडक पार गर्ने यात्रीहरुले तोकिएको स्थानबाट सडक पार नगर्दा पनि सवारी चालहरु हैरानी व्यहोरिरहेका छन् । यता सार्वजनिक सवारीहरु पनि निश्चित स्थानमा नरोकी आफु अनुकुल स्थानमा मात्रै रोक्नुले ट्राफिक व्यवस्थापनमा पनि समस्या हुँदै आएको छ ।

प्रयाप्त जेब्राक्रस नहुनु, साइकल, विद्युतीय रिक्साले तोकिएको रुट प्रयोग नगर्नुले पनि हर्न निषेधित क्षेत्र उल्लङ्घन भइरहेको पाइएको छ । साउन १९ गतेदेखि इटहरीलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।