काठमाडौँ/ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमका कर्मचारीलाई संस्था र जनताको पक्षमा कसैको दबाबमा नपरी निः स्वार्थ भावनाले काम गर्न निर्देशन दिएको छ ।
टेलिकमद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा मन्त्री बस्नेतले जनतालाई प्रत्यक्ष लाभ हुने गरी अनुशासित ढंगबाट काम गर्न टेलिकमका केन्द्रीय र विभिन्न क्षेत्रका कर्मचारीलाई निर्देशन दिए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले टेलिकमको ग्र्राहक संख्या, प्रचार/प्रसार र आम्दानीमा वृद्धि गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले सही मान्छेलाई सही ठाउँ दिनुका साथै गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था गर्ने बताए।
विसं २०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ७४ लाख ४२ हजार ९२२ रहेको छ । इन्टरनेट ग्राहक आधार २०७४ जेठसम्ममा ८३ लाख ९५ हजार पुगेको छ ।
कार्यक्रममा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले टेलिकममा देखिएका ढिलासुस्तीबाट फड्को मार्दै योजनाबद्ध ढंगबाट सेवा विस्तार गर्नुपर्नेमा जोड दिए। टेलिकमका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले नेपाल टेलिकमको टावर नै नभएको गुनासो बढ्दै गएको हुँदा जतिसक्दो चाँडो त्यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
टेलिकमले उपभोक्ता वर्गको अपेक्षाअनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिन चालु आवमा विभिन्न कार्यक्रममार्फत आफ्नो सेवा विस्तारतर्फ १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य लिएको छ । कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब रु २२ अर्ब पूँजीगत लगानी गर्ने योजना रहेको टेलिकमको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जतिसक्दो चाँडो गाउँगाउँमा इन्टरनेट पु¥याउने उद्देश्यले प्राधिकरणले त्यस सम्वन्धी कामलाई तिब्रताका साथ अगाडि बढाएको जानकारी दिए ।
टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमले अहिलेसम्म ग्राहकको माग अनुसार सेवा प्रदान गर्दै आएको र आगामी दिनमा समेत ग्राहकको चाहनाअनुसार अगाडि बढ्ने बताए ।
चालु आवमा टेलिकमको मुनाफा रु १५ अर्बभन्दा बढी हुने अपेक्षा गरिएको छ । रासस