चन्द्रौटा/घरभित्रको सजावट देख्दा पत्याउँनै गाह्रो । कोठामा हेर्दा महंगा पलङ, सोफासेट, दराज छन् । निकै आकर्षक सजिसजाउ छ कोठा । कसले भन्छ, उनैले चोरेको हो भनेर । तर, प्रहरीको अनुसन्धानले वास्तविकतामा परिणत गरिदियो । त्यही कोठाको दराजमा चोरेर लुकाइराखेको ४ तोला सुनका गहना राति प्रहरीले बरामद गरेको छ ।
[caption id="attachment_54951" align="alignleft" width="415"]
घरमा करोडौंको सम्पत्ति भएपनि सुनका गहना चोरीमा पक्राउ परेकी हुन् उनि । अर्थात २६ वर्षीय उर्मिला बस्नेत । जिल्लाको शिवराज नगरपालिका वडा नं. ५, प्रगतिटोल घर भएकी उर्मिलाले मंगलबार दिउँसो शिवराज नगरपालिका ५, सहजटोलको एक घरबाट ४ तोला सुनका गहना चोरेको फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उर्मिलाको घरबाट मंगलबार राति करीब १० बजे अढाइ तोला बढिको रानीहार, डेढ तोला बढीको बाला र चन्द्रमा बरामद गरेको हो । तीज मान्न माइत आएकी अमृता आचार्य (बस्याल) को दाइजोको गहना दिउँसो आफू घरमै हुँदाहुँदै पनि एकाएक गायब भएपछि उनी निकै चिन्तामा परेकी थिइन् ।
गत असारमा विवाह भएकी अमृता परीक्षाको लागि तीजयता माइतै बसेकी हुन् । ‘दिउँसो म र बहिनी घरमै थियौं । मैले दाइजोको गहना पोको पारेर दराजमै लुकाएर राखेकी थिएँ’अमृताले बताइन् । ‘गहना चोर्ने उर्मिला पनि हाम्रै घर आएकी थिइन् । हामी अर्को कोठामा गएको बेला मेरो गहना चोरी भयो’उनले भनिन् । ‘केही समयपछि मैले दराज खोलेर हेर्दा गहना थिएन, उर्मिला समेत हाम्रै घरमा आएकीले मलाई उर्मिलामाथि शंका लाग्यो तर हामीसँग कुनै प्रमाण थिएन । र प्रहरीलाई घटनाबारे जानकारी गरायौं ’ अमृताले भनिन् । अमृताका श्रीमान् भने बैदेशिक रोजगारीको सिलसिलामा फिनल्याण्ड बस्दै आएका छन् । गहना हराएपछि घरकाले बेचेर खाइस भन्ने डरले जानकारी समेत नदिएको बताउँछिन् ।
पीडितको उजुरीका आधारमा वडाप्रहरी कार्यालय चन्द्रौटाले सोधपुछका लागि प्रगतिटोलकी उर्मिलालाई आफ्नो नियन्त्रणमा लियो । प्रहरीको विशेष अनुसन्धानपछि उर्मिलाले रात परिसक्दा मात्र आफूले चोरेको स्वीकार गरेको वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए । राति करीब १० बजे प्रहरी टोली उर्मिलालाई सँगै घरमा आई कोठामा खानतलासी गर्दा दराजबाट आफैंले गहना निकालेर दिएको प्रहरी निरीक्षक भट्टराईले भने । चोरिएका गहना घरबाट बरामद भएपछि अहिले प्रहरीले उर्मिलालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भट्टराईले बताए ।