धरान/धरान उपमहानगरले पत्रकार हितका लागि बजेटमै तर्जुमा गरेर लिएर जाने नगर सभाको पूर्वसन्ध्यामा नगर प्रमुख तारा सुब्बाले बताएका छन् । नगर सभाको पूर्व सन्ध्यामा पत्रकारहरुबाट धरानको विकासका लागि गरिने योजनाहरुको राय संकलन गर्ने क्रममा उनले धरानबाट प्रकाशित पत्रिकाहरुलाई समानुपातिक विज्ञापन प्रणाली अपनाउने बताए । ‘पत्रकार हितको लागि बजेट मै तर्जुमा गर्नेछु ।’ उनले भने, ‘र, यहाँबाट प्रकाशित पत्रिकाको लागि समानुपातिक विज्ञापन प्रणाली अपनाउछौं ।’ पत्रकारहरुसामू सूचना प्रवाहको लागि प्रेश संयोजक पनि चाडै तोक्ने बताएका छन् । धरान उपमहानगरले प्रवक्तासमेत तोकेको छ । धरान–२० बाट चुनाव जितेका वडा अध्यक्ष मणीकुमार राईलाई उपमहानगरको प्रवक्ता तोकेको छ । अवको धरानका सूचना तथा निर्णयहरु प्रवक्ता मार्फत् नै प्रवाह हुने नगर प्रमुख सुब्बाले बताए । प्रमुख सुब्बाले सरकारको स्पष्ट नीति नहुँदा सिंहदरबारको अधिकार स्थानीय तहले पाउन नसकेको बताए । उनले कतिपय अवस्थामा केन्द्रले बजेट विनियोजन नगरेसम्म यहाँको दिर्घकालीन योजनाहरु अघि बढाउन नसकिने बताए । त्यसका लागि स्थानीय तहको बजेटले मात्रै नहुने बताएका छन् । ‘विशेष गरी शिक्षा, स्वास्थ्य र पर्यटनमा स्थानीय बजेटले मात्रै सम्भव छैन्,’ उनले भने । पत्रकारहरुले पत्रकार हितसँगै विकासे कार्यक्रमलाई मात्रै नभई विकासको मापक अन्य कुराहरु पनि पर्ने भएकाले त्यस तर्फ पनि ध्यान दिनको लागि आग्रह गरिएको थियो । स्थानीय प्रतिनिधिको अभावमा कर्मचारीतन्त्र बढेकाले त्यसको अन्त्य र नयाँ तौरतरिकाले काम गर्नको लागि सुझाव दिएका थिए ।