इटहरी / मधेशी जन अधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा आफ्नो पार्टी स्थान र परिस्थिती अनुसार जुन सुकै पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । उप–प्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका गच्छदारले आफ्नो पार्टीको उपस्थिती बढाउन सहकार्य गर्न तयार रहेको बताए ।
डिल्लोमा इन्जिनियर्स एशोसियशन नेपाल डिनको दुई दिने राष्ट्रिय सम्मेलनको विहीबार इटहरीमा उद्घाटन पछि सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले २ नम्वर प्रदेशको स्थानीय तहको निर्वाचन समेत अन्य पार्टीसँग सहकार्य गर्ने संकेत गरे । राजपासँग यहाँको पार्टीको सहकार्य हुन्छ ? भन्ने प्रश्नमा उनले भने ‘परिस्थिती हेरेर जुन सुकै पार्टीसँग हुनसक्छ ।’
प्रदेश नम्वर १ को राधनानी इटहरी बन्न सक्छ ? भन्ने प्रश्नमा उपप्रधान मन्त्री समेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले त्यसको प्रयास आफ्नो तहबाट मात्रै सम्भव नभएको तर प्रयास भने हुने बताए । इटहरीलाई महानगरपालिका बनाउन सकिने भन्दै त्यसको प्रयास थालिएको बताएको बताए । इटहरीबाटै आफू जनप्रतिनिधी समेत भएकोले पनि इटहरीमा पूर्वाधार थप्न सक्दो सहयोग गर्ने उनको भनाई थियो । सुनसरीमा क्षेत्र निर्धारण गर्दा अव्यवहारिक भएको भन्ने गुनासो उठेको प्रश्नमा उनले त्यसमा आफ्नो कुनै भूमिका नभएको भन्दै समितिको प्रतिवेदनका आधार आएको कुरामा आफूले केही भन्न नसक्ने बताए ।
यस अघि सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा रहेकाले त्यसका लागि डिनले ठोस् योजनासहित नयाँ प्रविधियुक्त नीति समेत ल्याउन आग्रह गरे । नेपालको नयाँ संविधानले सबैलाई समान रुपमा अधिकार सम्पन्न बनाउने भएकाले यसको कार्यान्वयनमा पनि जोड दिए । कार्यक्रममा संस्थाका अध्यक्ष कामेश्वरप्रसाद सिंहले नेपालमा डिनको कार्यालय स्थापना गर्न सरकारले आर्थिक सहयोग गर्न माग गरे । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहाकार डा. राजेन्द्रप्रसाद अधिकारीले संस्थाको अवधारणा पत्र राखेका थिए ।
सार्क राष्ट्रका डिन नेता प्रतिनिधि समेतको सहभागितामा पहिलो पटक देशको राजधानी बाहिर इटहरीमा सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा बंगलादेश डिनका सहअध्यक्ष एकेएमए हमिदले आफ्नो देशका प्रधानमन्त्री र सरकारले प्रविधिलाई उच्च प्राथामिकता दिएको बताउँदै नेपालमा पनि त्यस प्रकारको नीति आउन जरुरी रहेको बताए । कार्यक्रममा भारत डिनका महासचिव मनमोहन राजवंशी, नेपाल इन्जिनियर्स एशोसियसन डिनका अध्यक्ष कामेश्वरप्रसाद सिंहको अध्यक्षतामा भएको सम्मेलन उद्घाटन समारोहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा सिटीइभिटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेत, पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रोफेसर डा धनश्यामलालदासलगायत उच्च पदस्थ कर्मचारीसमेतको सहभागिता रहेको छ । सम्मेलन व्यवस्थापन संयोजक एवम् डिनका केन्द्रीय सदस्य जीवन घिमिरेका अनुसार दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् । यसै गरी सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने उनले बताए । सोही अवसरमा डिनको तर्फबाट बाढी पिडितको लागि एक लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको थियो । फोटो क्याप्सनः डिप्लोमा इञ्जिनियर्स एशोसिएसन नेपाल (डीन)को स्मारिका विमोचन गर्दै उपप्रधान एवम् स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार ।