बनियानी । निरन्तरको वर्षाका कारण खेतीयोग्य जमिन डुबानमा परेपछि झापामा सागसब्जीको मूल्य ह्वात्तै बढेको छ ।
लगाइएको सागसब्जी पानीले नष्ट गरेपछि मूल्य आकाशिएको हो । दुई साताअघि प्रतिमुठ्ठा रू. १० मा पाइने निगुरो अहिले रू. २५ पर्ने गरेको छ । प्रतिकेजी रू. ६० पाइने परवल रू. १२० पर्ने गरेको भद्रपुर–८ कि बिना श्रेष्ठले बताइन् । बजारमा सागसब्जीको मूल्य दोब्बर बढेको उपभोक्ताको भनाइ छ ।
प्रतिकेजी रू ३० देखि ३५ रुपैयाँमा पाइने गरेको आलु अहिले रू. ५० देखि ६० पर्ने गरेको छ । त्यस्तै, प्रतिकेजी रू ७० पर्ने बोडी रू १२०, रू. ३० पर्ने प्याज रू ७०, रू. ६० पर्ने भिन्डी रू १६० पर्ने गरेको छ । त्यस्तै, करेला, खुर्सानी, स्कूस लगायतका अन्य सागसब्जीको पनि मूल्य दोब्बर बृद्धि भएको भद्रपुर–७ कि संगिता पौडेलले बताइन् ।
बाढीका कारण अधिकांश खेत डुबानमा परेसँगै सागसब्जीको प्रकार (भेराइटी) पनि कम भएको छ । ‘१५–२० प्रकारको सब्जी बेच्ने गरेको थिएँ’, तरकारी व्यापारी राजेश साहले भने, ‘अहिले मुस्किलले ७–८ प्रकारका सब्जी बेच्दै छु ।’ उनका अनुसार थोक मूल्य नै बढेकाले खुद्रा बेच्दा महँगो भएको हो ।
झापा, मोरङ, सुनसरीका अधिकांश भाग डुबानमा परेपछि लगाइएको तरकारी बाली नष्ट भएको छ ।