ताप्लेजुङ/ ताप्लेजुङमा करीब नौ हजार नयाँ मतदाता थपिएका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन आयोगले सङ्कलन गरेको तस्विरसहितको मतदाता नामावलीमा ८ हजार ९ सय ६३ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
थपिएका मतदातामध्ये ४ हजार १ सय ६२ महिला र ४ हजार ८ सय १ पुरुष छन् । यीमध्ये सबैभन्दा बढी नगरपालिकामा ५ हजार २ सय १२ जनाको नामावली सङ्कलन भएको निर्वाचन अधिकारी गणेश अधिकारीले जानकारी दिए ।
जिल्लामा १ नगरपालिका र ८ गाउँपालिका गरी ९ वटा स्थानीय तहका कार्यालयमार्पmत् गत साउन १ देखि भदौ ३ गतेसम्म तस्विरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने, त्रुटि सच्याउने, नामावली सार्नेलगायतका काम गरिएको थियो ।
अधिकारीका अनुसार आठराई त्रिवेणी गाउँपालिकामा ५ सय ५५, सिरिजङ्गामा ६ सय ८३, सिदिङ्वामा २ सय ४८, फक्ताङलुङमा ६ सय ५०, मिक्वाखोलामा २ सय ४८, मैवाखोलामा ४ सय ४९, मेरिङ्देनमा ५ सय १६ र याङ्वरकमा ४ सय २ तथा सदरमुकामस्थित निर्वाचन कार्यालयमा ५ हजार २ सय १२ जनाले नामावली दर्ता गराएका हुन् ।
हालै सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनामा ताप्लेजुङमा ७० हजार ७ सय ७८ मतदाता थिए । अब जिल्लाको कुल मतदाताको टुङ्गो भने केही समयपछि यकिन हुने अधिकारीको भनाइ छ । नामावली सङ्कलन गर्दा सो सङ्ख्यामा मतदाता थपिए पनि नामावली सार्ने तथा १६ वर्ष मुनिकाले समेत नाम दर्ता गराएकाले पनि जिल्लाको कुल मतदाता यकिन हुन समय लाग्ने अधिकारीले बताए