भद्रपुर/१० औं राष्ट्रिय सूचना दिवस झापामा पनि सम्पन्न गरिएको छ । दिवसको दिन शनिवार परेकोले आयोगले देशैभरका जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरि शुक्रवारनै मनाउने निर्देशन दिएअनुरुप कार्यक्रम गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजना तथा जिल्ला हुलाकको सहयोगमा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार चिन्तामणि दाहालले सूचनाको हक र यसको प्रयोग,सूचना कस्का लागी र किन, सुचनाको गोप्यता, सूचनाको माग लगायतका विषयको बारेमा बृत्तचित्र मार्फत कार्य पत्र प्रस्तुत गरेका थिए । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना पाउने प्रत्येक नागरिकको अधिकार भएकोले कार्यालयमा आउने सेवाग्राहीले मागेको सूचनालाई दिन मिल्ने सम्मका विषयवस्तुहरु सहजै उपलब्ध गराउन कार्यालय प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिएका थिए । सूचनालाई पारदर्शिता, जिम्मेवारी र जवाफदेहिता हुने गरि यसको प्रयोग गर्न गराउन समेत प्रजिअ तिवारीले सम्बन्धित कार्यालयलाई जानकारी गराएका थिए ।

प्रजिअ तिवारीको अध्यक्षतामा सम्मपन्न कार्यक्रममा सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारी,पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको प्रशासन कार्यालयका प्रशासकिय अधिकृत चुडाराज भट्टराईले सहजीकरण गरेका थिए । सोहि कार्यक्रममा नव आगन्तुक प्रजिअ तिवारीलाई कर्मचारी मिलन केन्द्रले स्वागत तथा सम्मान समेत गरेका थिए ।